काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले भ्रष्टाचार, कुशासन र सामाजिक अन्यायविरुद्ध २०८२ भदौ २३ गतेदेखि सुरु भएको Gen-Z आन्दोलनमा निधन भएका युवाप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गरेको छ ।
पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले २०८२ असोज १ गते जारी गर्नु भएको शोक वक्तव्यमा आन्दोलनमा घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना गर्दै मृतक परिवारप्रति समवेदना प्रकट गरिएको छ ।
शोक वक्तव्यमा भनिएको छ-“आन्दोलनका मागहरूलाई पार्टीले न्यायोचित ठानेर समर्थन गर्दै आएको छ । युवापुस्ताको उठानले कुशासनविरुद्धको सङ्घर्षलाई अझै बलियो बनाएको छ ।”
वक्तव्यमा सरकारको कठोर दमन, ढिलासुस्तीपूर्ण प्रतिक्रिया र समयमै सम्बोधन नगरेको कारण आन्दोलनले हिंसात्मक मोड लिएको उल्लेख छ ।
वक्तव्यमा युवा पुस्ताले अघि सारेका मागहरूमाथि संवेदनशील भएर सम्बोधन गर्न सरकारलाई आग्रह गरिएको छ ।
वक्तव्यमा शान्ति, स्थिरता, सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायका मुद्दामा सरकारले सकारात्मक पहल गर्नुपर्नेमा जोड दिइएको छ ।
