मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

नेकपा एमालेद्वारा पोखरामा वडास्तरीय जागरण र्‍याली तथा सभा सम्पन्न

पोखरा । समृद्ध नेपाल, सुखी नेपाली नारासहित नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा महानगरपालिका–१७ वडा कमिटी, कास्की द्वारा आयोजना गरिएको वडास्तरीय जागरण र्याली तथा कोशसभा २०८२ कात्तिक २२ गते सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल एमाले जिल्ला कमिटी कास्कीका उपाध्यक्ष भेषराज बरालले संविधान, लोकतन्त्र र विधिको शासन जोगाउन सबै एकजुट हुनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले हत्यारा, भ्रष्टाचारी, लुटपाट, तोडफोड तथा आगजनीमा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग माग गर्नु भयो ।


उहाँका अनुसार जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा संलग्नहरूको छानबिन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउनु पार्टीको स्पष्ट अडान हो ।

उपाध्यक्ष बरालले हालको सुरक्षाहीन अवस्थाले शान्तिपूर्ण रूपमा निर्वाचन सम्भव नभएको टिप्पणी गर्दै, हातहतियार र प्रहरी पोशाक लुटिएको घटनाले समाजमा असुरक्षा बढाएको र ती सामग्री यथाशीघ्र फिर्ता गराउन सरकार प्रभावकारी रूपमा लाग्नुपर्ने जोड दिनु भयो ।

र्‍याली ड्याम साइटस्थित वडा पार्टी कार्यालयबाट सुरु भई मुस्ताङचोक, घारिपाटन हुँदै पोखरा महानगरपालिका–१७ को विरौटाचोकमा पुगेर जागरण सभामा परिणत भएको थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा–१७ का अध्यक्ष विक्रम गुरूङले उपस्थित नेता–कार्यकर्ता तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्नु भएको थियो ।

जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीका अनुसार एमाले केन्द्रिय कमिटीको निर्देशनअनुसार कास्की जिल्ला र पोखरा महानगरका सबै ३३ वडामा वडा स्तरिय जागरण र्‍याली तथा कोणसभा सञ्चालन गरिँदै आएको छ । सभामा पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Author

Related News