वीरेन्द्रनगर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका गल्तीबाट शिक्षा लिँदै आफूहरू एकीकृत पार्टी बनाउन अगाडि बढेको बताउनु भएको छ ।
वीरेन्द्रनगरमा २०८२ मङ्सिर २७ गते आयोजित एकता सभालाई सम्बोधन गर्दै उहाँले अब नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागितासहित एक नम्बर पार्टी बनाउन लाग्नुपर्ने र आज कर्णालीले देखाएको मायाले आफू उत्साहित भएको बताउनु भयो ।
संयोजक दाहालले १४ भन्दा बढी पार्टी मिलेर विगतका कमजोरी सच्याउँदै अगाडि बढ्ने सङ्कल्प गरेको उल्लेख गर्दै देशका विभिन्न स्थानमा भएका एकतासभामा देखिएको सहभागिताले अभियानलाई नयाँ उचाइमा पुर्याउने विश्वास जागेको धारणा राख्नु भयो ।
उहाँले विसं २०४१-४२ देखि नै माधव नेपाल र आफूबिचमा एकताका लागि छलफल सुरु भएको स्मरण गर्दै सशस्त्र द्वन्द्वका समयमा पनि निरन्तर छलफल भएको धारणा राख्नु भयो ।