मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

तीन दशकको सहयात्रालाई कवितामा बाँध्दै ‘जोडीका कविता’ सार्वजनिक

काठमाडौं । साहित्यमा दाम्पत्य सहयात्राको दुर्लभ अभिव्यक्ति प्रस्तुत गर्ने कविताकृति ‘जोडीका कविता’ एक अनौपचारिक कार्यक्रमबिच सार्वजनिक गरिएको छ ।

कवि तारक धिताल र कवयित्री दिना सुवेदी धितालको जीवन र सिर्जनालाई एउटै कृतिमा जोड्ने यस पुस्तकले वैवाहिक जीवनको तीन दशकलाई कवितामार्फत् स्मरण गरेको छ ।

३० वर्षे जीवन सहयात्रालाई केही फरक ढङ्गले मनाउने सोचबाट जन्मिएको यस कृतिमा दुवै सर्जकका ३०/३० कविता समेटिएका छन् ।

कविताले व्यक्तिगत अनुभूति, सामाजिक चेतना र समसामयिक यथार्थलाई दाम्पत्य दृष्टिबिन्दुबाट उजागर गरेका छन् ।

काठमाडौंमा २०८२ मङ्सिर २६ गते आयोजित कार्यक्रममा कवि विमल निभा, अभिनेता मदनकृष्ण श्रेष्ठ, डा. सरोज धिताल, कथाकार राजव तथा अन्य साहित्यप्रेमी अतिथिहरूको सामूहिक सहभागितामा पुस्तक लोकार्पण गरिएको थियो । लोकार्पणको शैली नै कृतिको भावजस्तै सामूहिक र सहयात्री भावनाले भरिएको देखिन्थ्यो ।

कार्यक्रममा बोल्दै कवयित्री दिना सुवेदी धितालले वैवाहिक यात्राको ३० वर्ष पूरा हुँदा सिर्जनामार्फत् उत्सव मनाउने चाहनाले यो कृति सार्वजनिक गरिएको बताउनु भयो ।

कवि तारक धितालले स्कुले जीवनदेखि नै कविता लेखनप्रतिको रुचि र आफ्नो सिर्जनात्मक यात्राबारे धारणा राख्नु भयो ।

कृतिमाथि टिप्पणी गर्दै साहित्यकार शार्दूल भट्टराईले ‘जोडीका कविता’ नेपाली साहित्यमा दाम्पत्य सिर्जनाको महत्वपूर्ण दस्तावेज भएको उल्लेख गर्नु भयो ।

उहाँले कवयित्री दिनाका कवितामा सशक्त विषयवस्तु र कवि तारकका कवितामा राजनीति तथा समसामयिक चेतना प्रबल रूपमा अभिव्यक्त भएको बताउनु भयो ।

दाम्पत्य जीवन र साहित्यिक सहयात्रालाई एउटै कृतिमा समेटिएको ‘जोडीका कविता’ ले नेपाली साहित्यमा जोडी सिर्जनाको नयाँ उदाहरण प्रस्तुत गरेको सहभागीहरूको निष्कर्ष थियो ।

Author

Related News