सिन्धुली । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सिन्धुलीमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गर्ने क्रम जारी छ ।
सिन्धुलीका सर्वसाधारणदेखि विभिन्न सङ्घसंस्था, उद्योगीव्यवसायी, सामाजिक समूह तथा विद्यालयका विद्यार्थी र निजी विद्यालय सञ्चालकसम्मले स्वस्फूर्त रूपमा सहयोग गरिरहेका छन् ।
रसुवा लगायतका जिल्लामा बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले सिन्धुलीवासीले आफ्नो आर्थिक क्षमताअनुसार रकम कोषमा जम्मा गरिरहेका हुन् ।
कतिपयले व्यक्तिगत रूपमा सहयोग गरेका छन् भने कतिपयले सामाजिक संस्था तथा विभिन्न समूहको माध्यमबाट रकम सङ्कलन गरी कोषमा जम्मा गरेका छन् ।
विपद्को समयमा सहयोग जुटाउने क्रममा विभिन्न क्षेत्रका नागरिकले आफ्नो आम्दानीबाट रकम छुट्याएर योगदान गरिरहेका छन् ।
उद्योगीव्यवसायी, विभिन्न सङ्घसंस्था, स्थानीय सामाजिक समूह तथा विद्यालयका विद्यार्थीसमेत राहत कोषमा सहयोग गर्न सक्रिय भएका छन् ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार हालसम्म कोषमा करिब ४० लाख रुपियाँ जम्मा भइसकेको छ ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सहयोग रकम जम्मा गरेपछि त्यसको भौचरसमेत जिल्ला प्रशासन कार्यालयमा बुझाउन अनुरोध गर्नुभएको छ ।
विपद्का बेला समाजका विभिन्न क्षेत्रबाट स्वस्फूर्त रूपमा सहयोग जुट्नुले सामाजिक एकता र मानवीय भावना बलियो रहेको देखाएको प्रशासनले जनाएको छ ।
विपद् प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले जिल्लावासीले आफ्नो क्षमताअनुसार योगदान गरिरहेका छन् ।