पोखरा । गण्डकी प्रदेशमा प्राकृतिक विपद् तथा दुर्घटनामा मृत्यु भएकाहरूको शव व्यवस्थापनका लागि पोर्टेबल मर्चरी हाउस निर्माण गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, कास्कीको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ, गण्डकी प्रदेशको सहयोगमा निर्मित पोर्टेबल मर्चरी हाउस २०८३ भदौ ३१ गते पोखरा महानगरपालिका-११ स्थित पश्चिम क्षेत्रीय अस्पतालको परिसरमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले पश्चिम क्षेत्रीय अस्पतालको फरेन्सिक विभाग प्रमुख डा. मदन बराललाई मर्चरी हाउसको चाबी हस्तान्तरण गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार मर्चरी हाउसमा एकपटकमा २४ ओटा शव राख्न सकिने व्यवस्था छ ।
लामो समयसम्म शव राख्दा पनि समस्या नहुने बताउँदै उहाँले मर्चरी हाउसको नियमित मर्मतसम्भार, संरक्षण र उचित व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, गण्डकी प्रदेशले भोटेकोशी बाढी तथा अन्य प्राकृतिक विपद् र दुर्घटनामा ज्यान गुमाएकाहरूको शव व्यवस्थापनलाई वैज्ञानिक, मर्यादित र पारदर्शी बनाउने उद्देश्यले पोर्टेबल मर्चरी हाउस निर्माण गरेको जनाएको छ ।
महासङ्घका कार्यवाहक अध्यक्ष सूर्यबहादुर भुजेलका अनुसार जिल्ला प्रशासन कार्यालय, कास्कीबाट करिब ३ लाख रुपियाँ बराबरको कन्टेनर उपलब्ध भएको थियो ।
त्यसको मर्मत तथा निर्माणमा करिब ९ लाख ६५ हजार रुपियाँ खर्च भएको छ । कन्टेनरसहित कुल १२ लाख ६५ हजार रुपियाँ लागतमा मर्चरी हाउस निर्माण सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।
भुजेलका अनुसार आवश्यकता परेको अवस्थामा मर्चरी हाउसलाई गण्डकी प्रदेशका जुनसुकै स्थानमा पनि सहजै लैजान सकिनेछ । यसको व्यवस्थापन तथा संरक्षण सरकारी मापदण्डअनुसार गरिने उहाँले बताउनुभयो ।
भोटेकोशी बाढीका घटनाबाट स्तब्ध बनेको महासङ्घले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा निजी क्षेत्रको अभिभावक संस्थाका रूपमा फरेन्सिक विज्ञान, मर्चरी व्यवस्थापन र शवपरीक्षण प्रक्रियामा नेपाल सरकारसँग सहकार्य गर्दै तत्काल यो पहल गरेको भुजेलले बताउनुभयो ।
मर्चरी हाउस निर्माणका लागि नेपाल उद्योग वाणिज्य महासङ्घ, गण्डकी प्रदेश, पर्वत उद्योग वाणिज्य सङ्घ, शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घ, नागरिक परोपकार समन्वय संस्था कास्की, अन्तर्राष्ट्रिय नेपाल युवा उद्यमी महासङ्घ गण्डकी प्रदेश, एनवाईईएफ पोखरा, होटलियर्स क्लब पोखरा तथा सामुदायिक प्रहरी सेवा केन्द्रहरू-जिल्ला समन्वय समिति, पृथ्वीचोक, बैदाम, कालिका, बगर, लेखनाथ, माटेपानी र हेम्जाले आर्थिक तथा अन्य सहयोग गरेका थिए ।