मानव आवाज

२०८३ असोज ३ गते
00: 00: 00
२०८३ असोज ३ गते

गण्डकीमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइयो

पोखरा । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा गण्डकी प्रदेश सरकारले विशेष समारोह आयोजना गरी दिवस मनाएको छ ।

प्रदेश प्रमुख डिल्लीराज भट्टको प्रमुख आतिथ्यतामा असोज ३ गते पोखरामा आयोजित कार्यक्रममा संविधानको मर्म र भावनाअनुसार लोकतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख भट्टले संविधानले प्रत्याभूत गरेका अधिकार र व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लोकतन्त्र, सुशासन, सामाजिक न्याय तथा आर्थिक समृद्धिको दिशामा अघि बढ्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको संविधान २०७२ जारी भएपछि तीन तहका सरकारमार्फत मुलुक समृद्धिको यात्रामा अघि बढिरहेको बताउनुभयो ।

उहाँले संविधानले स्थानीय तहलाई स्थानीय आवश्यकता पहिचान गरी योजना निर्माण तथा कार्यान्वयन गर्ने अधिकार दिएको उल्लेख गर्दै स्थानीय तह विगतका स्थानीय निकायभन्दा बढी अधिकारसम्पन्न भएको बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेका अनुसार प्रदेश सरकार सङ्घीय सरकार र स्थानीय तहसँगको सहकार्य तथा समन्वयमार्फत विकास र समृद्धिको यात्रामा अघि बढिरहेको छ ।

संविधान जारी भएको एक दशक पूरा भए पनि सङ्घीयता कार्यान्वयनका केही पक्ष अझै बाँकी रहेको उहाँको भनाइ छ ।

संविधानको अनुसूची ९ मा सङ्घ, प्रदेश र स्थानीय तहका १५ ओटा साझा अधिकार सूची रहेको उल्लेख गर्दै उहाँले ती अधिकारको प्रभावकारी कार्यान्वयनका लागि सहकार्य र सहअस्तित्व आवश्यक रहेको बताउनुभयो ।

राजनीतिक रूपमा सङ्घीयता कार्यान्वयन भए पनि प्रशासनिक र वित्तीय रूपमा सङ्घीयता कार्यान्वयन हुन बाँकी रहेको उहाँले उल्लेख गर्नुभयो ।

दिवसको अवसरमा गण्डकी प्रदेशभित्र विपद्का समयमा खोज, उद्धार, राहत तथा मानवीय सेवामा उल्लेखनीय योगदान पुर्‍याउने सुरक्षा निकायसहित ९ सय ७३ जना व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका सभामुख, प्रदेशसभा सदस्य, मुख्य न्यायाधीश, नेपाली सेनाका पश्चिम पृतनापति, प्रदेश तथा जिल्ला तहका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, सुरक्षा निकाय तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता थियो ।

प्रदेश प्रमुखद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त

संविधान दिवसको अवसरमा प्रदेश प्रमुख डिल्लीराज भट्टले शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका नेपालीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

सन्देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न जनआन्दोलन, सशस्त्र सङ्घर्ष तथा मधेस आन्दोलनलगायतका क्रममा जीवन उत्सर्ग गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै अग्रजहरूप्रति सम्मान व्यक्त गरिएको छ ।

प्रदेश प्रमुख भट्टले २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ता नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै पक्षलाई सक्रिय हुन अपिल गर्नुभएको छ ।

उहाँले जनताका प्रतिनिधिद्वारा गठित संविधानसभाबाट २०७२ असोज ३ गते जारी भएको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, बहुदलीय लोकतान्त्रिक प्रणाली, विधिको शासन, समानुपातिक समावेशिता र सामाजिक न्यायलाई संस्थागत गरेको उल्लेख गर्नुभएको छ ।

संविधानले सुनिश्चित गरेका मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धितर्फ अग्रसर हुनु आजको प्रमुख दायित्व भएको सन्देशमा उल्लेख छ ।

मुख्यमन्त्रीको शुभकामना-संविधान राष्ट्रिय आकांक्षा पूरा गर्ने मार्गदर्शन

मुख्यमन्त्री पाण्डेले पनि संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले सङ्घर्ष, त्याग र बलिदानको जगमा निर्माण भएको नेपालको संविधान सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल आधारशिला भएको उल्लेख गर्नुभएको छ ।

संविधानले नागरिक स्वतन्त्रता, मौलिक हक, मानव अधिकार, समानता, सामाजिक न्याय, समावेशिता तथा लोकतान्त्रिक मूल्यमान्यतालाई संस्थागत गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्ने मार्गनिर्देशन गरेको मुख्यमन्त्रीको सन्देशमा उल्लेख छ ।

पोखरा महानगरको शुभकामना

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पनि संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै संविधानले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समानुपातिक समावेशिता, सामाजिक न्याय तथा मौलिक अधिकारलाई सुनिश्चित गरेको उल्लेख गर्नुभएको छ ।

संविधानले परिकल्पना गरेको समाजवादउन्मुख राज्य व्यवस्था, सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्न संविधानका मूल्यमान्यता तथा प्रावधानको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको सन्देशमा उल्लेख छ ।

महानगरपालिकाले संविधानको मर्म र भावनाअनुरूप स्थानीय स्वशासन, समावेशी विकास, आर्थिक समृद्धि, वातावरण संरक्षण तथा नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर अघि बढिरहेको प्रमुख आचार्यले बताउनुभएको छ ।

महानगरको विकास र समृद्धिको यात्रामा नागरिक, राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, निजी क्षेत्र, नागरिक समाज तथा विकास साझेदारको रचनात्मक सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार