नेपाली कांग्रेसको नियमावलीको दफा ५० मा “जेष्ठ नागरिक सभा” को परिकल्पना गरिएको छ । पार्टीलाई सल्लाह, सुझाव र प्रेरणा दिनका लागि पार्टीमा योगदान गरेका ६५ वर्ष उमेर पुगेका व्यक्तिहरूलाई यस सभामा राख्न सकिन्छ भन्ने व्यवस्था हाम्रो नियमावलीमा विद्यमान छ ।
तसर्थ, नेपाली कांग्रेसलाई समयसापेक्ष निकास दिनुपर्ने हो भने ६५ वर्ष उमेर हद पार गरेका हाल जिम्मेवारीमा रहेका अग्रजहरूले स्वेच्छिक रूपमा आ–आफ्नो पदबाट सामूहिक राजीनामा गरी मार्ग प्रशस्त गर्दै, युवालाई अगाडि सारेर नेतृत्व सुम्पिनुहोस् र तपाईंहरू यसै सभामा बसेर पार्टीलाई आवश्यक सहयोग गर्नुहोस् भन्ने विनम्र आग्रह गर्दछु । यो समयको माग हो, जुन जरुरी छ ।
प्रश्न उठ्न सक्छ, किन त ? किनभने…
प्रथमतः, तपाईंहरूले प्रत्यक्ष रूपमा विभिन्न जिम्मेवारीमा रहेर मुलुक र पार्टीका लागि पुर्याउनुभएको योगदानप्रति हार्दिक धन्यवाद छ । तर, एकपटक सोच्नुहोस् त ! कर्मचारीलाई ६० वर्ष, न्यायाधीशलाई ६५ वर्ष उमेर हद किन लाग्छ ? नेताहरूलाई किन लाग्दैन ? लाग्नुपर्छ ! यदि हाम्रो विधान र संविधानमा नै प्रमुख पदमा रहने व्यक्तिलाई ६५ वर्षको उमेर हद र एक पदमा बढीमा दुई कार्यकाल मात्र अवसर दिने व्यवस्था भयो भने त्यहीँबाट विकृतिको अन्त्य सुरु हुनेछ ।
सम्झनुहोस् त ! २०४८ सालमा नै मन्त्री बन्नुभएका तपाईं “हजुरबुबा” “बा”हरूले निरन्तर दर्जनौं पटक पदमा रहिराख्नु आवश्यक छ ? के शक्तिको आडमा सधैं ठाँउ ओगटिरहनुहुने तपाईंहरू नै समयसापेक्ष, निर्बिकल्प र प्रिय हुनुहुन्छ ? हजुरहरूले कहिल्यै ऐना हेर्नुहुन्न ? वास्तवमा चाकरीबाजहरूले आफ्नो स्वार्थका लागि लगाएको तेलले तपाईंहरूको विवेक ढाकिएको छ भन्ने लाग्छ । खोलामा बगेको पानी कञ्चन हुन्छ, तर जमेको पोखरीमा लेउ लाग्छ । तनावग्रस्त बुढ्यौलीभन्दा आरामको रिटायर्ड जीवन बिताउनु राम्रो होइन र ?
तसर्थ, पदको नशा त्यागिदिनुहोस् ! तपाईंहरूभन्दा क्षमतावान्, अध्ययनशील, समयको गतिलाई बुझ्न सक्ने, नयाँ पुस्तालाई समेत नेतृत्व गर्न सक्ने, जोस र जाँगर भएका, समाजले पत्याएका युवापुस्ता कांग्रेसमा तयार भइसकेका छन् । उनीहरूलाई रोक्नुहोस्, दबाउनुहोस्, अब उचित हुनेछैन ।
आदरणीय अग्रजहरू !
आज देशमा “जेनेरेसन जेड आन्दोलन” उठ्नु र त्यसको परिणाम आउनुको दोषी हामी नेपाली कांग्रेस पनि हौं । २०७२ को संविधान जारी गर्दा कांग्रेस ठिक थियो । तर २०७४ को चुनावमा सबै कम्युनिस्टहरू एक भएर लडे र जिते । दुईतिहाईको कम्युनिस्ट सरकार र प्रधानमन्त्री ओली बने । हामी छटपटायौं ।
तर २०७७ पुग्दा नपुग्दै दुईतिहाईको सरकार आफैं कमजोर भएर संसद विघटनसम्म पुग्यो । त्यो हाम्रो लागि अवसर थियो । तर दुर्भाग्यवश, लोकतान्त्रिक पार्टी कांग्रेसले जनतामाझ जाने साहस नगरी प्रचण्ड, माधव नेपाल, मधेसी दलसँग गठबन्धन गर्दै सत्तामा मात्र रमायो । कहिले ओलीलाई बोकेर, कहिले अन्यलाई समाएर पार्टीले सुशासनभन्दा सत्तालाई प्राथमिकता दियो । युवाको आवाजलाई बेवास्ता गर्यो, समानुपातिक प्रणालीको दुरुपयोग गर्यो, क्षमताभन्दा पैसा, आफन्त र नातालाई प्राथमिकता दियो । यसरी जनता आजित भए र त्यसैको फाइदा उठाउँदै कुनै योगदान नभएका “घण्टी” र “लौरो” जस्ता व्यक्तिहरूले कांग्रेसलाई नै चुनौती दिन थाले । यसरी आफ्नो निष्ठा, आदर्श र सिद्धान्त भुलेको दिनबाटै कांग्रेसको अधोगति सुरु भएको हो ।
आदरणीय अग्रजहरू,
आज सर्वमान्य नेता गणेशमान सिंहको २८औं स्मृति दिवस ! उहाँलाई सम्झेर पनि त्याग संस्कृतिलाई आत्मसात् गर्नुस् । थोरै नैतिकतालाई जिउँदो राख्नुस् । विगतलाई सम्झनुस्, वर्तमानलाई बुझ्नुस् र भविष्यलाई जोगाउनुस् । तपाईंहरू निर्बिकल्प होइन, विकल्पहरू प्रशस्त छन् । पार्टी नेतृत्वले समयको गति नबुझेको कारण आज यो स्थिति आएको हो ।
अझै ढिलाइ भए संघर्षको मैदानमा हामी निर्लज्ज पराजित हुनेछौं । बीपी, गणेशमानहरूले स्थापित गरेको पार्टीलाई रसातलमा जानबाट रोक्नुस् । नत्र फेरि थप दोष तपाईंहरूकै काँधमा पर्नेछ । नयाँ पुस्तालाई नेतृत्व सुम्पिनुस् । परिवर्तन निश्चित हुन्छ, हामीलाई पूर्ण विश्वास छ ।
अन्त्यमा,
बिन्ती गर्छु ! सोच बदल्नुस् । रुपान्तरणलाई सहजीकरण गर्नुस् । तपाईंहरूको मूल्यांकन इतिहासले गर्नेछ । परिवर्तन सम्भव छ, हाम्रै पालामा । हामी बदलिँदो परिवेशअनुसार बदलिएको कांग्रेस बनाएर सुशासन, भ्रष्टाचारको अन्त्य र आमूल परिवर्तन सहितको देश देख्न चाहन्छौं । जेनेरेसन जेडको आवाजलाई परिणाममुखी बनाउन चाहन्छौं । संविधानको रक्षा गर्दै समयानुकूल संशोधन गरेर आफ्नै सुकर्मले समुन्नत नेपालका सम्मानित नागरिक भएर बाँच्न चाहन्छौं ।
सबै अग्रज तथा साथीहरूले बुझिदिनुहोला, साथ दिनुहोला । यदि मैले गलत बोलेको वा लेखेको भए कारबाही गर्नुहोला ।
जय नेपाल !
(अधिकारी, नेपाली कांग्रेस, ललितपुरका जिल्ला सचिव हुनुहुन्छ)