मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा दलीय भागबन्डा नगर्न प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको ध्यानाकर्षण

ललितपुर । द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिले प्रधानमन्त्रीलाई भेटेका छ्न् । प्रधानमन्त्रीले संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन उनीहरूले ध्यानाकर्षणपत्र बुझाएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा २०८२ बैशाख २१ गते भएको भेटमा द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीसहितका प्रतिनिधिले सिफारिस समितिले आफूहरूसँग परामर्श नगरेको र विश्वासिलो वातावरण नबनेको भन्दै चिन्ता व्यक्त गरे ।

दलीय भागबण्डा नभई निष्पक्ष एवम् पीडितले विश्वास गर्न सक्ने व्यक्तिलाई आयोगको अध्यक्ष र सदस्यमा सिफारिस हुनुपर्ने द्वन्द्वपीडितले माग गरेका छन् । दुई आयोगको पदाधिकारी सिफारिसका लागि गठित समितिले संक्षिप्त सूची प्रकाशन गरिसकेको छ ।  

भेटमा द्वन्द्वपीडित नेतृ सुशीला चौधरी पनि सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्री भेटिसकेपछि भेटमा भएको कुराकानीबारे जानकारी दिँदै सुशीला चोधरी

प्रधानमन्त्री ओलीले आफूले द्वन्द्वकालदेखि नै शान्तिका पक्षमा स्पष्ट कुरा राख्दै आएकाले अहिलेको सरकारका पालामा गठन हुने आयोग र यसका प्रक्रियामा अविश्वास नगर्न आग्रह गर्नुभएको खबर छ ।

राजनीतिक असमझदारीका कारणले यो प्रक्रिया लामो समय लिएको स्पष्ट गर्दै बलात्कारजस्ता मानवताविरुद्धको जघन्य अपराध गर्नेलाई कानूनी कठघरामा उभ्याएर सजाय दिएरै छाड्ने तथा पीडितलाई न्याय र परिपूरण दिएरै छाड्ने प्रधानमन्त्री ओलीले उद्घोष गर्नुभएको छ । भेटमा प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल पनि सहभागी हुनुहुन्थ्यो ।

यसअघि कामै गर्न नसकेको समितिलाई नै ब्युताउनुपर्ने राजनीतिक दलहरुलाई के बाध्यता आइलाग्यो त्यसको कुनै स्पष्टिकरण नदिनुबाट प्रमुख राजनीतिक दलको विषयप्रतिको गाम्भिर्यता कमजोर रहेको आरोप लाग्दै आएको छ ।

उनीहरू विषयलाई समाधान गर्न भन्दा पनि अल्झाइरहन उद्यत छन् भन्ने पीडितको आरोपमा सत्यता नहोला भन्न सकिँदेन । यसअघि पनि सोही समितिले दुवै आयोगका अध्यक्ष र सदस्यका १ सय ५६ दावेदारमध्ये ३९ जनाको सूची सार्वजनिक गरेको थियो ।

निर्धारित मितिमा नाम सिफारिश गर्न नसकेपछि सिफारिश समितिले विज्ञप्तिमार्फत नयाँ प्रक्रिया सुरू गर्न आग्रह गर्दै आफ्नो कार्यकाल सकेको थियो । पीडित समुदाय र अधिकारकर्मीले अपनत्व नलिएसम्म राजनीतिक नेतृत्वको भागबण्डाले मात्रै समस्याको निप्टारा हुँदैन ।

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता  सकिएको छ । भेटवार्तामा सत्यनिरुपण आयोगका विषयमा छलफल भएको र यसको प्रक्रिया सकारात्मक रुपमा अघि बढेको पाइएको छलफलमा सहभागी माओवादी नेता एवम् पूर्वमन्त्री वर्षामान पुनले बताउनु भएको छ ।

Author

Related News