मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

द्वन्द्वपीडित समुदायद्वारा पीडितमैत्री आयोगको माग

मधु पन्थी, पोखरा ।

गण्डकी प्रदेशका द्वन्द्वपीडितले पीडितमैत्री आयोगको माग गरेका छन् ।

गण्डकी प्रदेशका नौ ओटै जिल्लाबाट भेला भएका पीडितको आयोजानमा अपारदर्शी र पीडितलाई पाखा लगाई गठित नियन्त्रित आयोग सम्बन्धमा पोखरामा २०८२ जेठ २७ र २८ गते आयोजित द्वन्द्वपीडित  समुदायको रणनीतिक  प्रादेशिक परामर्श  विषयक अन्तरक्रियामा पीडित समुदायले यस्तो माग गरेका हुन् ।

कार्यक्रममा सङ्कटग्रस्त सङ्क्रमणकालीन न्याय प्रकृया र अबको बाटो पीडित समुदायको साझा अवधारणा एवम् नागरिक समाज र सञ्चारकर्मीको धारणाका विषयमा अवधारणापत्र प्रस्तुत गरी छलफल गरियो ।

वरिष्ठ मानवअधिकारकर्मी चरण प्रसाईंले उजुरी फिर्ता गर्दा र त्यसको जबाफ दिन अदालत वा प्रहरीले चासो नदिएको बताउनु भयो ।

प्रहरीले उजुरी लिन नमान्दा न्याय प्रक्रिया अवरूद्ध भएको  उहाँको भनाई छ । पीडितले अब पनि कानुनी सहायताको बाटो नै रोज्नुपर्छ, अन्यथा अन्याय हुने बताउनु भयो ।

द्वन्द्वपीडित राष्ट्रिय सञ्जालका अध्यक्ष गोपालबहादुर शाहले अहिलेको सत्य निरूपण तथा मेलमिलाप आयोग गठन प्रक्रिया अस्वस्थ र अवैध भएको आरोप लगाउनु भयो ।

द्वन्द्वपीडित महिला सञ्जाल अध्यक्ष सिर्जना श्रेष्ठले सङ्क्रमणकालीन न्याय ढिलो हुँदा द्वन्द्वपीडित महिलाको भविष्य अन्योलमा परेको बताउनु भयो । 

इन्सेक गण्डकी प्रदेश कार्यालय पोखराका संयोजक शिवप्रसाद खकुरेलले अहिले बनेका आयोग निष्पक्ष नदेखिएकाले यो आयोग विघटन हुनु पर्ने र द्वन्द्व पीडितको सहमतिमा  आयोग बन्नुपर्नेमा जोड दिनु भयो।

दुई दिनसम्म पोखरामा भएको भेलाले सङ्क्रमणकालीन न्याय प्रक्रियामा सरकारले हस्तक्षेप गरेको आरोप सहित नवगठित आयोगविरुद्ध गण्डकी प्रदेशका द्वन्द्वपीडितले आन्दोलनको घोषणा गरेका छन् ।

उनीहरूले न्याय सुनिश्चित गर्न आयोगहरूको बहिष्कार गर्दै पाँच बुँदे आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेका छन् ।

Author

Related News