मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु सबैको साझा दायित्व: प्रजिअ शर्मा

पोखरा । कास्की जिल्लामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षको साझा दायित्व रहेको कास्कीकी प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले बताउनुभएको छ ।

प्रजिअ शर्माको अध्यक्षतामा २०८२ माघ ६ गते बसेको जिल्ला स्थित कार्यालय प्रमुखहरूको बैठकले आगामी फागुन २१ गते हुने निर्वाचन सम्पन्न नभएसम्म कास्की जिल्लाभित्र कुनै पनि मेला, महोत्सव तथा सार्वजनिक कार्यक्रम सञ्चालन नगर्न र त्यसका लागि अनुमति नदिने निर्णय गरेको छ ।

बैठकमा निर्वाचन सुरक्षाका लागि पर्याप्त संख्यामा सुरक्षाकर्मी परिचालन गर्नुपर्ने भएकाले यस्तो व्यवस्था मिलाउन स्थानीय तहहरूलाई निर्देशन दिइएको प्रजिअ शर्माले जानकारी दिनु भयो ।

बैठकले जेनजी आन्दोलनका क्रममा क्षति भएका सरकारी सवारी साधन तथा भौतिक सम्पत्तिको मन्त्रिपरिषद्को निर्णयअनुसार तत्काल मिनाहा तथा लिलाम बिक्री प्रक्रिया टुङ्ग्याउन निर्देशन दिएको छ ।

साथै आन्दोलनका क्रममा नष्ट भएका सरकारी सम्पत्तिका कारण अब नयाँ सवारी साधन खरिद गरिने र हाल सञ्चालनमा रहेका सवारी साधन तथा निर्माण हुने सरकारी भवनहरूको अनिवार्य बिमा गर्ने व्यवस्था मिलाइने प्रजिअ शर्माले स्पष्ट पार्नु भयो ।

निर्वाचन आयोगबाट जारी आचारसंहिता पालना गर्नु सबै कर्मचारी, सुरक्षाकर्मी र शिक्षकहरूको साझा कर्तव्य भएको उल्लेख गर्दै उहाँले आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्नु भयो ।

कर्मचारीहरू राजनीतिक दलका कुनै पनि कार्यक्रममा सहभागी हुन नपाउने, साथै सामाजिक सञ्जालमा निर्वाचनको पक्ष वा विपक्षमा पोस्ट सेयर, लाइक वा कमेन्ट गर्न नपाउने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिइएको छ ।

बैठकले सरकारी भवन, स्रोत–साधन र सवारी साधनहरू कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न नपाइने निर्णय गरेको छ ।

स्वीकृत वार्षिक बजेटबाहेकका नयाँ योजना घोषणा वा उद्घाटनमा पनि पूर्णरूपमा रोक लगाइएको छ ।

निर्वाचन प्रयोजनका लागि आवश्यक सरकारी सवारी साधन तयारी अवस्थामा राख्न र माग भएको खण्डमा चालकसहित उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।

मतदान केन्द्र रहेका विद्यालय तथा सार्वजनिक स्थलमा पिउने पानी, बिजुली र शौचालयको उचित व्यवस्था मिलाउन स्थानीय तहले सहयोग गर्नुपर्नेछ ।

साथै मतदान केन्द्रसम्म पुग्ने सडक मार्गहरूको मर्मत कार्य सडक डिभिजन, प्रदेश सरकार र स्थानीय तहले समन्वयमा गर्नुपर्नेछ ।

निर्वाचनमा खटाइने कर्मचारीहरूको विवरण समयमै निर्वाचन कार्यालयमा पठाउन, कर्मचारीलाई लामो बिदामा नछाड्न, काज वा सरुवा भएकालाई तत्काल दरबन्दी भएको कार्यालयमा पठाउन तथा कार्यालय प्रमुखहरू नियमित रूपमा सञ्चार सम्पर्कमा रहन आग्रह गरिएको छ ।

बिदामा बस्नै परे प्रमुख जिल्ला अधिकारीलाई अनिवार्य रूपमा पूर्व जानकारी दिनुपर्ने व्यवस्था पनि बैठकले गरेको छ ।

यसैगरी जेनजी आन्दोलनका क्रममा हिरासत तथा कारागारबाट फरार भएका कैदीबन्दीहरूको खोजी कार्यलाई तीव्र बनाइने निर्णय गरिएको छ ।

फरार व्यक्ति सेवा लिन कुनै कार्यालयमा आएमा सहायक प्रमुख जिल्ला अधिकारी (९८५६०३७५०१), प्रहरी नायब उपरीक्षक (९८५६०३५५१२) वा कारागार प्रशासक (९८५६०८३७७७) लाई तुरुन्त सूचना दिन बैठकले सबैमा अनुरोध गरेको छ ।

Author

Related News