मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

ग्वाङखोलामा निर्माणाधीन पक्की पुल अलपत्र

रुद्र बहादुर खड्का, सिन्धुली ।

ढुङ्ग्रेबास बजार र धुरा बजारलाई जोड्ने ग्वाङखोलामा निर्माणाधीन पक्की पुल ठेकेदारको लापरवाहीका कारण अलपत्र परेको आरोप लागेको छ ।

पाँच वर्षअघि साढे ८ करोड रुपियाँ लागतमा सङ्घीय सरकारले निर्माण सुरु गरे पनि निरन्तर ढिलासुस्तीका कारण पुल अपूर्ण अवस्थामा छोडिएको स्थानीयहरूको आरोप छ ।

ढुङ्ग्रेबासका दिपेन्द्र श्रेष्ठका अनुसार, पुल निर्माणमा कुनै पनि प्रकारको जग्गा विवाद नहुँदा पनि ठेकेदारले विवादलाई बहाना बनाउँदै काममा ढिलाइ गरिरहेको छ ।

उहाँले भन्नु भयो-“सदरमुकामकै मुटुमा रहेको पुल समयमा नबन्दा वर्षातमा जोखिम मोलेर खोला तर्नुपरेको छ ।”

कमलामाई नगरपालिकाको वडा नं ४ र ६ लाई जोड्ने उक्त पुलको ढलान दुई वर्षअघि नै भइसके पनि काम ठप्प छ ।


स्थानीयका अनुसार, ग्वाङखोलामा सुरु गरिएका अन्य तीन पक्की पुल अहिले सञ्चालनमा आइसके पनि ढुङ्ग्रेबास–धुरा बजारलाई जोड्ने पुल कहिले सकिने हो भन्ने अनिश्चितता कायमै छ ।

पुल अधुरो हुँदा लडेर ज्यान जाने जोखिम समेत बढेको छ । यसअघि पुल निर्माण सुरू गर्ने क्रममा खनिएको खाडलमा डुबेर एक बालकको ज्यान गएको पनि स्थानीयले बताएका छन् ।

पुल निर्माणमा खटिएका प्राविधिक निरोज महर्जनका अनुसार, महादेव खिम्ती–अन्जना–सारस जेभीले भ्याटसहित ८ करोड ५० लाख ७६ हजार ८ सय रुपियाँमा २०७७ भदौ १० गते सम्झौता गरी काम सुरू गरेको थियो ।


उक्त पुल २०८० जेठ ९ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । म्याद नपुगेपछि दोस्रो पटक समय थपेर २०८३ जेठ मसान्तसम्म म्याद निर्धारण गरिएको उहाँले बताउनु भयो ।

महर्जनका अनुसार, हालसम्म भौतिक प्रगति ८३ प्रतिशत र वित्तीय प्रगति ८० प्रतिशत छ ।

Author

Related News