मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

कास्कीमा मदिरा बिक्री-वितरणमा पूर्ण रोक, रात्रीकालीन व्यवसाय पनि सीमित

पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ लाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाभर मदिराजन्य पदार्थको बिक्री-वितरण, ओसारपसार तथा सेवनमा पूर्ण रोक लगाएको छ भने रात्रीकालीन व्यवसायसमेत सीमित गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माद्वारा जारी सूचनाअनुसार २०८२ फागुन १५ गते राति १२ बजेदेखि अन्तिम मतपरिणाम सार्वजनिक नहुञ्जेलसम्म मदिराजन्य पदार्थको बिक्री-वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको हो ।

निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका-२०७८, निर्वाचन आयोगको मिति २०८२ फागुन १३ गतेको प्रेस विज्ञप्ति तथा जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा उक्त निषेधाज्ञा लागू गरिएको प्रशासनले जनाएको छ ।

यसैबिच, जिल्ला प्रशासन कार्यालयले अर्को जरुरी सूचना जारी गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण रात्रीकालीन व्यवसायसमेत सीमित गरिएको जनाएको छ ।

सूचनाअनुसार फागुन १५ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि होटल, रेष्टुरेन्ट, मदिरा पसल, क्लब, दोहोरी साँझ, डान्स बार, स्पा सेन्टर लगायतका व्यवसाय राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।

प्रशासनले निर्वाचन अवधिभर सार्वजनिक शान्ति सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरेको छ ।

होटल व्यवसायी, मदिरा व्यवसायी, राजनीतिक दल, उम्मेदवार, प्रतिनिधि तथा आम सर्वसाधारणलाई सूचनाको पूर्ण पालना गर्न आग्रह गरिएको छ ।

सूचनाको प्रभावकारी कार्यान्वयनका लागि सुरक्षा निकायबाट अनुगमन तथा निगरानी गरिने जनाउँदै आदेशको अवज्ञा वा उल्लङ्घन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनीसमेत प्रशासनले दिएको छ ।

निर्वाचन सम्पन्न भई अन्तिम परिणाम घोषणा नभएसम्म यी प्रतिबन्ध कायम रहने प्रशासनले स्पष्ट पारेको छ ।

Author

Related News