मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

अनशनरत मेयर भट्टराईको जीवन रक्षाका लागि आयोगको आग्रह

ललितपुर । जैविक विविधता संरक्षण र रैथाने संस्कृतिको प्रवर्द्धनलगायत माग राखी २०८२ साउन ११ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा आमरण अनशनमा बस्नु भएका खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ।

भट्टराईको जीवन रक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारसँग विशेष आग्रह गरेको छ।

आयोगका अनुसार मेयर भट्टराईले बाँस प्रवर्धन, खोटाङलाई बाँसको राजधानी घोषणा, जलवायु परिवर्तनको असर न्यूनीकरण, गिटी क्रसर उद्योगलाई मापदण्डअनुसार सञ्चालन, निर्माण व्यवसायीको कार्य अनुशासनलगायत नीति निर्माणको माग गर्दै अनशन थाल्नु भएको हो ।

उहाँले बाँदर र अन्य जङ्गली जनावर नियन्त्रणका लागि नीति निर्माणको माग समेत राख्दै आउनु भएको छ ।

अनशनको क्रममा भट्टराईको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि साउन १४ गते राति वीर अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरिएको थियो।

आयोगको अनुगमन टोलीले अनुगमनका क्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, अस्पतालका चिकित्सक र प्रशासकसँग पनि छलफल गरिएको थियो।

वीर अस्पतालका अनुसार भट्टराईको रक्तचाप, सुगर र मुटुको धड्कनमा गम्भीर गिरावट आएको छ। यद्यपि, उहाँले थप उपचारका लागि औपचारिक रूपमा भर्ना हुन अस्वीकार गर्नु भएको छ ।

यसैबिच सरकारका प्रतिनिधिहरू र भट्टराईबीच अनौपचारिक वार्ता भइरहेको जानकारी प्राप्त भएको आयोगले जनाएको छ।

यसैबिच नगरपालिकाका प्रवक्ता दिनेश घिमिरेले २०८२ साउन १५ गते एक विज्ञप्ति जारी गर्दै जलवायु न्याय स्थानीय स्रोत साधनको संरक्षण सुशासनको प्रत्याभूति तथा भावी पुस्ताको सुरक्षित भविष्य सुनिश्चित गर्न घोषणाको मागसहित गरिएको सत्याग्रहमा ऐक्यबद्धताको आग्रह गर्नु भएको छ ।

Author

Related News