ललितपुर । राष्ट्रिय मानव अधिकार आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीको क्रममा देशभर शान्ति सुरक्षालाई मजबुत बनाउन राजनीतिक दल र सम्बन्धित पक्षहरूलाई सचेत गराएको छ ।
आयोगका सहसचिव एवम् प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति निकालेर निर्वाचन नजिकिँदै गर्दा देशका विभिन्न भागमा भइरहेका घटनाहरूले शान्ति सुरक्षा र चुनावी वातावरणमा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
विज्ञप्तिमा उल्लेख छ कि पछिल्लोपटक दाङ लगायतका जिल्लामा केही दलका कार्यकर्ताबीच भएको विवाद र रौतहट, पर्सा लगायतका जिल्लामा विभिन्न समूहबिच देखिएका सङ्घर्षका कारण निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था समेत सिर्जना भएको छ ।
आयोगका अनुसार यस्ता घटनाहरूले आगामी निर्वाचनमा थप चुनौती थप्ने सम्भावना रहेको छ ।
आयोगले सबै राजनीतिक दल, स्थानीय प्रशासन र सुरक्षा निकायलाई शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
