काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मानवअधिकारमैत्री बनाउन राष्ट्रिय मानव अधिकार आयोगले सबै सरोकारवालालाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
निर्वाचनको क्रममा मानवअधिकारको अवस्थाबारे आयोगले देशभर अनुगमन गरिरहेको सन्दर्भमा आज आयोगले निर्वाचन पर्यवेक्षणमा संलग्न विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग छलफल गरेको हो ।
छलफलमा सहभागीहरूले निर्वाचनलाई निष्पक्ष, मर्यादित र मानवअधिकारमैत्री बनाउनुपर्नेमा जोड दिएका थिए ।
आयोगले गरेको छलफल तथा कार्यालयहरूबाट भइरहेको अनुगमनबाट केही चिन्ताजनक अवस्थाहरू देखिएको जनाएको छ ।
आयोगका अनुसार केही राजनीतिक दलका नेता तथा उम्मेदवारहरूले एक–अर्काप्रति अमर्यादित तथा घृणाजन्य भाषा प्रयोग गरेका छन् ।
यस्तै, डिजिटल माध्यम प्रयोग गरी अरूको मर्यादामा आँच पुर्याउने सामग्री प्रचारप्रसार गरिएको पाइएको छ ।
मतदातालाई कुन दल वा उम्मेदवारलाई मत दिने भनी प्रश्न सोधेर भिडियो तथा अडियो रेकर्ड गरी सामाजिक सञ्जालमा राखिएको घटनाले गोप्य मतदानको अधिकार उल्लङ्घन भएको आयोगको निष्कर्ष छ ।
साथै, निर्वाचन आयोगद्वारा तयार पारिएको आचारसंहिता केही दल र उम्मेदवारबाट उल्लङ्घन भएकोप्रति समेत प्रश्न उठाइएको छ ।
निर्वाचनअघि नै निश्चित उम्मेदवारको जित हुने भन्दै भ्रमपूर्ण समाचार प्रकाशन गरिएको, मतदाता शिक्षा प्रभावकारी हुन नसकेको र केही राजनीतिक दलका कार्यालयमा तोडफोडका घटना समेत देखिएको आयोगले जनाएको छ ।
यसअघि राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मीहरूसँग भएको छलफलमा पनि यस्ता समस्या उठाइएको आयोगले स्मरण गराएको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा निर्वाचनका क्रममा घृणायुक्त आरोप–प्रत्यारोप नगर्न, सामाजिक सञ्जालको दुरुपयोग रोक्न, मतदाताको गोपनीयता सुरक्षित गर्न, भ्रमपूर्ण समाचार प्रकाशन तथा प्रसारण नगर्न र कुनै पनि प्रकारका हिंसात्मक गतिविधि बन्द गर्न आग्रह गरिएको छ ।
साथै, मतदाता शिक्षालाई प्रभावकारी बनाउँदै निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आयोगले सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न अनुरोध गरेको छ ।
