मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

रेसुङ्गाको पर्यटन विकासमा होटल व्यवसायीसँग सहकार्य

तम्घास । गुल्मी जिल्लामा पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने उद्देश्यले रेसुङ्गा नगरपालिकाको आयोजना तथा होटल व्यवसायी मञ्च गुल्मीको समन्वय एवम् सहजीकरणमा २०८२ पुस २५ गते तम्घासमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले पर्यटन प्रवर्धनका लागि योजना निर्माणमा यस्ता अन्तरक्रिया कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण रहेको बताउनु भयो ।

उहाँले नगरपालिकाले सञ्चालन गर्दै आएको ‘जाउँ हिड रेसुङ्गा’ अभियानलाई अझ प्रभावकारी बनाउन नगरपालिकामा हालै डिजिटल लोगो जडान गरिएको जानकारी दिनु भयो ।

सो अभियान सफल बनाउन प्रत्येक होटल तथा पर्यटनसँग सम्बन्धित व्यवसायमा उक्त लोगो राखी जिल्लाको पर्यटन प्रवर्धनमा सहयोग गर्न होटल व्यवसायीहरूलाई आग्रह गर्नु भयो ।

होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष जङ्गबहादुर कुँवरले पर्यटन विकासका लागि महत्वपूर्ण पहल सुरु भएको बताउँदै अब आगन्तुक पाहुनालाई जिल्लामै केही दिन अड्याएर राख्ने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

उहाँले रेसुङ्गा, मालिका, मदाने, मुसिकोट, धुर्कोट विचित्र गुफा, कङ्कङ्के देउरालीलगायत पर्यटकीय क्षेत्रसम्म पुग्ने सवारी साधनको समस्या रहेको भन्दै यसको समाधानतर्फ ध्यान दिनुपर्ने बताउनु भयो ।

साथै पर्यटकलाई सहज सेवा दिन र होटल क्षेत्रमा थप लगानी आवश्यक रहेको धारणा राख्नु भयो ।

मञ्चका संस्थापक अध्यक्ष युवराज भण्डारीले नगरपालिकाको चाहना र व्यवसायीहरूको दायित्व एउटै रहेको उल्लेख गर्दै ‘जाउँ हिड रेसुङ्गा’ अभियानको लोगोको व्यापक प्रचार–प्रसारमा सबै व्यवसायी लाग्नुपर्ने बताउनु भयो ।

विभिन्न तालिम कार्यक्रम सञ्चालन गर्दा तथा होटलहरूमा समेत यस्ता लोगो राखेर पर्यटन प्रवर्धनमा योगदान दिनुपर्ने उहाँको भनाइ थियो ।

होटल व्यवसायी सुर्दशन खनालले भौतिक पूर्वाधार निर्माणसँगै दक्ष जनशक्तिको अभाव ठूलो समस्या रहेको बताउँदै होटल व्यवस्थापन तथा किचनसम्बन्धी तालिम आवश्यक रहेको धारणा राख्नु भयो ।

दक्ष जनशक्ति व्यवस्थापनमा नगरपालिकाले सहयोग गर्नुपर्ने उहाँको सुझाव थियो ।


यस्तै होटल व्यवसायी काशी पाण्डेले पर्यटन विकास हाल गाँठो परेको अवस्थाजस्तो देखिएको बताउँदै यसलाई चलायमान बनाउने उपाय खोज्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

उहाँले ‘जाउँ हिँड रेसुङ्गा’ अभियानलाई जिल्लाका अन्य पर्यटकीय गन्तव्यसँग जोड्दै जिल्लाव्यापी अभियानको रूपमा अघि बढाउनुपर्ने सुझाव दिनु भयो । साथै होटलहरूले खानपान, सरसफाई र सेवाको गुणस्तर सुधारमा ध्यान दिनुपर्ने बताउनु भयो ।

होटल व्यवसायी पुष्पकुमार पन्थीले नगरपालिकाले व्यवसायमैत्री कार्यक्रम सञ्चालन गर्नुपर्ने र पर्यटकलाई उचित आश्रय दिने वातावरण सिर्जना गर्नु होटल व्यवसायीहरूको दायित्व रहेको बताउनु भयो ।

उहाँले घुम्न मिल्ने स्थान र क्षेत्रलाई थप फराकिलो बनाउँदै पूर्वाधार निर्माणमा पनि जोड दिनुपर्ने आवश्यकता औंल्याउनु भयो ।


यसैगरी चिन्तामणि ढकालले पर्यटकका लागि सम्पर्क केन्द्रको व्यवस्था, गन्तव्य स्थानहरूको स्पष्ट पहिचान तथा अन्य पर्यटकीय क्षेत्रसम्म पुग्न आन्तरिक सवारी साधन र गाइडको व्यवस्था आवश्यक रहेको धारणा राख्नु भयो ।

कार्यक्रमको अन्त्यमा पर्यटन प्रवर्धनलाई व्यवस्थित रूपमा अघि बढाउने उद्देश्यले एक समिति गठन गरिएको छ ।

रेसुङ्गा नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालको संयोजकत्वमा गठित समितिमा नगरपालिकाबाट तिलक खनाल तथा होटल व्यवसायी मञ्चबाट सुर्दशन खनाल, काशी पाण्डे र मोहन श्रीस सदस्य रहनुभएको छ ।

समितिले पर्यटन प्रवर्धनका विषयमा थप व्यवस्थित रूपमा काम गर्ने होटल व्यवसायी मञ्चका सचिव लालमणि आचार्यले जानकारी दिनु भयो ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद मरासिनी तथा होटल व्यवसायी मञ्चका संस्थापक अध्यक्ष युवराज भण्डारीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

अन्तरक्रियामा होटल व्यवसायी मञ्चका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

Author

Related News