मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

जलवायु सङ्कट मानवअधिकारको सङ्कट भएको संयुक्त राष्ट्रसंघको चेतावनी

ललितपुर । दक्षिणी युरोपमा तीव्र गर्मीको लहर चलिरहेका बेला संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टुर्कले जलवायु परिवर्तनले मानिसको जीवन र अधिकारमा गम्भीर असर पारिरहेको चेतावनी दिनुभएको समाचारहरूमा जनाइएको छ।

संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्लाई सम्बोधन गर्दै उच्चायुक्त टुर्कले जलवायु सङ्कटलाई मानवअधिकारकै सङ्कट भएको बताउनुभयो।

उहाँले तापक्रम वृद्धि, समुद्री सतहको उचाइमा बढोत्तरी, बाढी, खडेरी र डढेलो जस्ता समस्याले मानव जीवन, स्वास्थ्य, स्वच्छ तथा दिगो वातावरणमा बाँच्न पाउने अधिकारमा प्रत्यक्ष असर पारिरहेको उल्लेख गर्नुभयो।

उहाँले हाल युरोपमा देखिएको गर्मीको लहरलाई जलवायु परिवर्तनको प्रभावको स्पष्ट संकेत बताउँदै सबैले तयारी र प्रभावकारी कदम चाँडै चाल्नुपर्नेमा जोड दिनुभयो।

जीवाश्म इन्धनमा आधारित उद्योगहरू गलत प्रचार र झुटा समाधान प्रस्तुत गर्दै मुनाफा कमाउनमै केन्द्रित भएको उहाँको आरोप छ। त्यस्ता उद्योगहरूलाई जवाफदेही बनाउन विशेष उपाय अवलम्बन गर्नुपर्ने उहाँको भनाइ छ।

“प्राकृतिक स्रोतको दुरुपयोग गरेर फाइदा उठाउनेहरू अब त्यसको मूल्य चुकाउनुपर्ने समय आएको छ,” उहाँले स्पष्ट पार्नुभयो। साथै, जलवायु रूपान्तरणका लागि दिइने अन्तर्राष्ट्रिय आर्थिक सहयोगहरू प्रायः ऋणको रूपमा हुने भएकाले यसले गरिब र विकासोन्मुख देशहरूमा थप ऋणको बोझ थपिरहेको उच्चायुक्त टुर्कको भनाइ छ।

उहाँका अनुसार हाल करिब तीन अर्ब ३० करोड मानिस यस्ता देशहरूमा बसोबास गरिरहेका छन्, जहाँ शिक्षा वा स्वास्थ्यभन्दा बढी रकम ऋणको ब्याज तिर्न खर्च गरिँदैछ।

मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनले वातावरण र जलवायुको संरक्षण गर्ने जिम्मेवारी राष्ट्रहरूमा स्पष्ट रूपमा तोकेको भन्दै उहाँले जलवायु न्याय सुनिश्चित गर्न कानुनी प्रक्रिया बलियो बन्दै गएको उल्लेख गर्नुभयो।

जलवायु परिवर्तनसम्बन्धी छलफल भइरहेका बेला जेनेभामा तापक्रम अत्यधिक भएपछि परिषद्का अध्यक्षले पोशाकसम्बन्धी नियममा सहजता ल्याउँदै टाइ नलगाउने निर्णय गर्नुभएको थियो। यो दिन तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको थियो।

Author

Related News