मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

तोकिएको समयमा नै निष्पक्ष निर्वाचन र दिगो शान्ति स्थापनामा नागरिक समाजको जोड

पोखरा । शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराले २०८२ असोज २ गते पोखरा उद्योग वाणिज्य सङ्घ, गैह्रापाटनको सभा हलमा “संविधानको रक्षा, निष्पक्ष निर्वाचन र दिगो शान्ति स्थापनाका लागि हाम्रो भूमिका” विषयक अन्तरसम्वाद कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आन्दराज मुल्मीले आगामी फागुन २१ गते घोषित मितिमै निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिनु भयो ।

उहाँले ६ महिनाको अन्तरिम सरकारलाई असफल बनाउन प्रयास भइसकेको उल्लेख गर्दै, निर्वाचन रोकिए मुलुक थप अस्थिरतामा फस्ने र अर्थतन्त्र धराशायी हुने तर्क राख्नु भयो । “यसका लागि आम नागरिकतर्फबाट खबरदारी अपरिहार्य छ ।”-उहाँले भन्नु भयो ।

कार्यक्रममा नेकपा (एमाले) कास्कीका उपसचिव लालबहादुर परियार, नेकपा (माओवादी) का शालिकराम देवकोटा, नेपाली कांग्रेसका देव्रेन्द्र रानाभाट, अधिकारकर्मी रामप्रसाद घिमिरे, खगराज आचार्य, इश्वरी बिक, पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेल, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्की, गैसस गण्डकीका अध्यक्ष पदमराज पहारीलगायत वक्ताहरूले भदौ २३-२४ मा देशभर सञ्चालन भएको ‘जेन-जी आन्दोलन’ को क्रममा भएको जनधनको क्षति, त्यसपछिको राजनीतिक परिवर्तन र त्यसबाट सिक्नुपर्ने पाठबारे धारणा राखे।

वक्ताहरूले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको, युवाहरूले उठान गरेका माग सम्बोधन गर्नुपर्ने, भ्रष्टाचारमा संलग्न जो कोहीमाथि निष्पक्ष छानबिन हुनुपर्ने तथा आम नागरिकले शान्ति र सुशासनको अनुभूति गर्नुपर्नेमा जोड दिए ।

शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराकी संयोजक बिना सिलवालले देशलाई थप क्षति हुन नदिन र दिगो शान्ति स्थापना गर्न हरेक नागरिकको सक्रिय पहलकदमी आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा सामाजिक अभियन्ता, राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घका पदाधिकारी, निजी क्षेत्रका व्यवसायी, गैरसरकारी संस्था महासङ्घ, पत्रकार महासङ्घ, बार एसोसियसन, सामाजिक सङ्घसंस्था र नागरिक समाजका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता थियो ।

Author

Related News