काठमाडौँ । गैरसरकारी संस्था महासङ्घ नेपाल तथा नागरिक समाज प्रतिनिधिमण्डलले २०८२ मङ्सिर ११ गते शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरी देशको वर्तमान राजनीतिक अवस्था, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण तथा आगामी निर्वाचन तयारीसम्बन्धी विषयमा विस्तृत ध्यानाकर्षण गराएको छ । प्रतिनिधिमण्डलको नेतृत्व महासङ्घका अध्यक्ष अर्जुनकुमार भट्टराईले गर्नुभएको थियो ।
प्रतिनिधिमण्डलमा महासङ्घ सल्लाहकार डा. अर्जुन कार्की, शान्तलाल मुल्मी, सलोनी सिंह, निवर्तमान अध्यक्ष रामप्रसाद सुवेदी, उपाध्यक्ष राजेन्द्र शर्मा, महासचिव देवी खड्का, उपमहासचिव किरण थापा, सचिव जजराज शाहीलगायतको उपस्थिति थियो ।
प्रतिनिधिमण्डलले जेनजी आन्दोलन (भदौ २३–२४) का क्रममा मृतक तथा घाइतेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै निष्पक्ष छानबिनको आवश्यकता औंल्यायो ।
लोकतन्त्र, संविधान र विधिको शासनलाई मजबुत बनाउन राज्यका संरचनाहरू प्रभावकारी रूपमा काम गर्नुपर्ने उल्लेख गरियो ।
आगामी निर्वाचन तोकिएको मितिमै स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा प्रतिनिधिमण्डलले जोड दियो ।
साथै, नागरिक समाजविरुद्ध भइरहेका नियोजित भ्रम, आरोप र अविश्वासका गतिविधि रोक्न आग्रह गर्दै नागरिक समाज राज्यको साझेदार हो, विपक्षी होइन भन्ने स्पष्ट सन्देश राष्ट्रपतिलाई दिइयो ।
सुशासन, पारदर्शिता, जबाफदेहिता र ठूला भ्रष्टाचारका मुद्दाहरूमा ठोस निष्कर्षमा पुग्न समग्र राज्य संयन्त्र प्रभावकारी बन्न आवश्यक रहेको धारणा प्रस्तुत गरियो ।
युवापुस्ताको आवाजलाई नीति निर्माण प्रक्रियामा संस्थागत रूपमा समावेश गर्नुपर्ने, न्यायालय तथा संवैधानिक निकायहरूको सम्मान कायम राखिनुपर्ने र वर्तमान राजनीतिक जटिलता समाधानका लागि राष्ट्रिय संवाद संयन्त्र सक्रिय बनाउनुपर्ने माग पनि राखिएको थियो ।
राष्ट्रपति पौडेलले नागरिक समाजको योगदान विगतदेखि नै महत्वपूर्ण रहेको उल्लेख गर्दै, सबै राजनीतिक दल निर्वाचन प्रक्रियामा लागिसकेको वर्तमान परिवेशमा सरकारले तोकिएको मितिमै स्वच्छ, निस्पक्ष र भयमुक्त निर्वाचन सम्पन्न गर्नु प्रमुख दायित्व भएको स्पष्ट धारणा व्यक्त गर्नु भयो ।
उहाँले सरकार, नागरिक समाज र सबै सरोकारवाला पक्षको समान भूमिका आवश्यक रहेको बताउनु भयो ।
प्रतिनिधिमण्डलले तयार पारेको ध्यानाकर्षणपत्र राष्ट्रपति कार्यालयको सचिवालयलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।