मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

नागरिक समाज र अधिकारकर्मी-आवाजविहिनको आवाज बन्नुपर्नेमा जोड

पोखरा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय पोखराले २०८२ मङ्सिर ४ गते आयोजना गरेको गण्डकी प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखराकी प्रमुख नितु गर्तौलाले मानव अधिकारका विविध क्षेत्र महिलाअधिकार, बालअधिकार, शिक्षा, स्वास्थ्य, जातीय विभेद, लैङ्गिक हिंसा तथा सङ्क्रमणकालीन न्यायमा इन्सेकले गर्दै आएको प्रभावकारी बहसपैरवीको प्रशंसा गर्नु भयो ।

उहाँले नवगठित सञ्जालले सरोकारवाला निकायसँग सहकार्य र समन्वय गर्दै विषयमा केन्द्रित पहलकदमी सञ्चालन गर्नुपर्नेमा जोड दिँदै भन्नु भयो-“नागरिक समाज र अधिकारकर्मीले आवाजविहिनको आवाज बन्न सक्नुपर्छ ।”

इन्सेक गण्डकीका प्रदेश संयोजक गणेश भण्डारीले संस्थाले आफ्नो स्थापनाकालदेखि नै मानव अधिकार अभिलेखीकरण, अनुगमन, आर्थिक,सामाजिक तथा सांस्कृतिक अधिकारका सवालमा निरन्तर पैरवी गर्दै आएको जानकारी दिनु भयो ।

उहाँका अनुसार सञ्जाल गठनको मुख्य उद्देश्य सङ्क्रमणकालीन न्याय, संविधानप्रदत्त मौलिक हक तथा नागरिक अधिकारका विषयमा प्रभावकारी बहस–पैरवी गर्दै सरकारलाई जवाफदेही बनाउन भूमिका निर्वाह गर्नु हो ।

सञ्जालले मानव अधिकार, समसामयिक मुद्दा तथा आमनागरिकका सवालमा अभियान सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

नागरिक मञ्च गण्डकीका संयोजक तथा वरिष्ठ अधिकारकर्मी विष्णुप्रसाद बरालले इमान्दारी र नैतिकता नागरिक समाजको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै, सामाजिक संस्थाले आफ्नो उद्देश्यप्रति जिम्मेवार र जबाफदेही हुनुपर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा नागरिक मञ्च गण्डकीका सदस्य खेमप्रसाद पौडेल, फेडो कास्कीकी संयोजक इश्वरी बिक, अधिकारकर्मी ढाकाराम पौडेल, डिडा नेपालका गिरधारी सुवेदी, एकल महिला समूह कास्कीकी अध्यक्ष जुना केसीलगायतले पछिल्लो समय व्यक्तिविशेषका नाममा धेरै सञ्जाल गठन हुने गरे पनि उद्देश्य प्राप्तिपछि निष्क्रिय हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्नु भयो ।

नवगठित १९ सदस्यीय सञ्जालको संयोजकमा रामहरि ढुङ्गाना सर्वसम्मत चयन हुनुभएको छ । सहसंयोजकमा जुना केसी, सचिवमा सावित्री घिमिरे रहनुभएको छ ।

त्यसैगरी कमल पौडेल ‘अथक’, जगन्नाथ तिमिल्सिना, केशु भुजेल, रामशरण नेपाली, प्रेमकुमारी अधिकारी, गणेश वाग्ले, सन्दिप चापागाईं, प्रवेश मगर, संकल्प नेपाल, प्रतीक्षा काफ्ले, दुर्गादेवी अधिकारी घिमिरे, विनोद शाह, नौलो विहानी, फेडो, संकल्प र डिडा नेपालका प्रतिनिधिलाई सदस्यमा छनोट गरिएको छ ।

सञ्जालको प्रमुख संरक्षकमा विष्णुप्रसाद बराल, सल्लाहकारमा विना शिलवाल र खेमप्रसाद पौडेल चयन हुनु भएको छ ।

Author

Related News