मानव आवाज

२०८३ असोज १८ गते
00: 00: 00
२०८३ असोज १८ गते

पोखरा-१७ का नागरिकले उठाए ढल, सडक बत्ती र सार्वजनिक जग्गा संरक्षणका सवाल

पोखरा । पोखरा महानगरपालिका-१७ का नागरिकले वडाभित्रको ढल निकास, सडक बत्ती, सार्वजनिक जग्गा संरक्षण, खानेपानी, फोहोर व्यवस्थापन तथा पर्यटन पूर्वाधार सुधारलाई प्राथमिकताका साथ अघि बढाउन माग गरेका छन् ।

आर्थिक वर्ष २०८२/०८३ मा वडा कार्यालयबाट प्रवाह भएका सेवा, सुविधा तथा विकास निर्माणका कामबारे आयोजित सार्वजनिक सुनुवाइमा वडावासीले विकास निर्माणसँगै सेवा प्रवाहलाई पारदर्शी, जवाफदेही र जनमुखी बनाउन जनप्रतिनिधिसँग आग्रह गरेका हुन् ।

पोखरा टेलिभिजनको सहजीकरण तथा पोखरा-१७ वडा कार्यालयको आयोजनामा २०८३ असोज १८ गते वडा कार्यालयको सभा कक्ष, ड्यामसाइडमा सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो ।

सार्वजनिक सुनुवाइमा वडावासीले सडकमा बग्ने भलपानीको दीर्घकालीन निकासका लागि ढल निर्माणलाई प्राथमिकता दिनुपर्ने, फेवातालमा बनेको फेवा ड्यामको दिगो संरक्षणका लागि पहल गर्नुपर्ने तथा सार्वजनिक जग्गा अतिक्रमणबाट जोगाउनुपर्ने माग राखे ।

त्यस्तै छोरेपाटन, डेभिडफल, बिरौटा र बरालफिट क्षेत्रमा सडक किनारमा बत्ती जडान गर्न, हाइमास्ट बत्ती राख्न, विद्युत् पोलमा अव्यवस्थित तार व्यवस्थापन गर्न र अपाङ्गतामैत्री फुटपाथ निर्माण गर्नुपर्ने सुझाव सहभागीले दिए ।

वडाभित्र सीसीटीभी जडान, सिँचाइका कुलो व्यवस्थापन, नियमित खानेपानी आपूर्ति, फोहोरमैला व्यवस्थापन तथा पशु वधशालाको व्यवस्था गर्नुपर्ने माग पनि उठाइएको थियो ।

वडावासीले शिक्षा र स्वास्थ्यमा समान पहुँच, टोलटोलमा जनप्रतिनिधिको नियमित उपस्थिति, स्थानीयका गुनासा प्रत्यक्ष सुन्ने व्यवस्था र ५६ ओटा टोल विकास संस्थालाई समान दृष्टिले हेर्नुपर्नेमा जोड दिए ।

सार्वजनिक सुनुवाइलाई औपचारिकतामा सीमित नराखी उठेका सवालको कार्यान्वयन र त्यसको प्रगति नागरिकलाई जानकारी गराउनुपर्ने उनीहरूको भनाइ थियो ।

वडाध्यक्ष राधिकाकुमारी शाहीले भूगोल र जनघनत्वका हिसाबले वडा ठूलो भएकाले काम गर्ने क्रममा केही कमी–कमजोरी हुन सक्ने बताउँदै त्यसमा कुनै नियत वा पूर्वाग्रह नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले नागरिकले आफ्ना समस्या र गुनासा खुलेर राख्न आग्रह गर्दै जनप्रतिनिधिको मुख्य जिम्मेवारी नागरिकको सेवा गर्नु भएको बताउनुभयो ।

उहाँले वडाको बजेटबाट मात्रै ठूला योजना सम्पन्न गर्न कठिन हुने भएकाले ढल निकासलगायत दीर्घकालीन पूर्वाधारका लागि पोखरा महानगरपालिका, प्रदेश तथा संघीय सरकार र सम्बन्धित निकायसँग समन्वय र साझेदारीमा काम गरिने बताउनुभयो ।

वडामा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, डेभिडफल र गुप्तेश्वर गुफाजस्ता पर्यटकीय स्थल रहेको उल्लेख गर्दै शाहीले वडालाई पर्यटन तथा पूर्वाधारमैत्री बनाउँदै पार्किङ र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गरिने बताउनुभयो ।

वडाभित्र तीन सामुदायिक माध्यमिक विद्यालय, १५ संस्थागत विद्यालय र गुप्तेश्वर क्याम्पस सञ्चालनमा रहेको जानकारी दिँदै जानकी माध्यमिक विद्यालय, महतगौडामा अटिजम भएका बालबालिकाको पठनपाठनसमेत सुरु भएको उहाँले बताउनुभयो ।

वडा सदस्य विक्रम गुरुङले वडा कार्यालयका काम, विकास निर्माण र सेवा प्रवाहबारे नागरिकलाई जानकारी गराउन तथा सेवामा सुधार ल्याउन सार्वजनिक सुनुवाइ आयोजना गरिएको बताउनुभयो ।

स्थानीय योजना निर्माणमा नागरिकको सहभागिता महत्वपूर्ण हुने भन्दै उहाँले विरोधका लागि विरोधभन्दा सकारात्मक सुझाव र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

वडा सदस्यहरू विष्णुकुमारी थापा र विक्रम गुरुङले सेवाग्राहीका प्रश्न तथा गुनासाको जबाफ दिनुभएको थियो ।

कार्यक्रममा वडा सचिव सुरेन्द्रप्रसाद शर्माले वडा कार्यालयको कार्यप्रगति प्रस्तुत गर्दै आगामी दिनमा सेवा प्रवाहलाई थप प्रविधिमैत्री, पारदर्शी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले सेवाग्राहीलाई सहज र छिटोछरितो सेवा उपलब्ध गराउने बताउनुभयो । पोखरा टेलिभिजनका कार्यकारी प्रमुख पुष्प दाहालले सार्वजनिक सुनुवाइको सहजीकरण गर्नुभएको थियो ।

वडा कार्यालयका अनुसार आर्थिक वर्ष २०८३/०८४ मा १ सय ५२ ओटा योजना समेटिएका छन् । उक्त आर्थिक वर्षका लागि कुल १३ करोड ३८ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । राजस्व सङ्कलनलाई सुधार गर्दै ७ करोड रुपियाँ पुर्‍याउने लक्ष्य राखिएको छ ।

योजना तथा कार्यक्रमका सम्झौता मङ्सिरभित्र सम्पन्न गर्ने र चैतभित्र भुक्तानीका लागि फाइल तयार पार्ने व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ ।

त्यस्तै सार्वजनिक सेवा प्रवाहलाई थप पारदर्शी र व्यवस्थित बनाउने तथा फोहोरको स्रोतमा वर्गीकरण, नहर सरसफाई र व्यवस्थित सहरीकरणलाई प्राथमिकतामा राखिएको छ ।

सार्वजनिक सुनुवाइमा जनप्रतिनिधि, स्थानीय सङ्घसंस्थाका प्रतिनिधि, टोल विकास संस्थाका अध्यक्ष, आमा समूह तथा वडावासीको उल्लेखनीय सहभागिता रहेको थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार