मानव आवाज

२०८३ भदौ १२ गते
00: 00: 00
२०८३ भदौ १२ गते

विनाशकारी बाढीपहिरोमा भएको जनधनको क्षतिप्रति नागरिक मञ्च स्तब्ध

पोखरा । रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएकोप्रति नागरिक मञ्च गण्डकी प्रदेशले गहिरो दुःख व्यक्त गरेको छ ।

मञ्चका संयोजक विष्णुप्रसाद बरालले विपत्तिमा परी ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

बाढीपहिरोमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्को यस विषम परिस्थितिमा तत्काल उद्धार तथा राहतका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।

मञ्चले बाढीमा परी हराएका/सम्पर्क वहीन भएका नागरिकको तीव्र खोजी तथा प्रभावित क्षेत्रमा तत्काल उद्धार, प्राथमिक उपचार, खाद्यान्न र सुरक्षित बासस्थानको व्यवस्था गर्न तीनै तहका सरकार, सुरक्षा निकाय तथा विपद् व्यवस्थापन समितिलाई आग्रह गरेको छ ।

त्यस्तै, प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन गरी निःशुल्क औषधोपचारको व्यवस्था गर्न र बाढीपछि फैलिन सक्ने सम्भावित सङ्क्रमण तथा महामारी नियन्त्रणका लागि आवश्यक पूर्वतयारी थाल्न मञ्चले माग गरेको छ ।

विपद्को समयमा स्थानीय युवा क्लब, सङ्घसंस्था तथा आम नागरिकलाई उद्धार र राहत कार्यमा आआफ्नो स्थानबाट सहयोग तथा समन्वय गर्न पनि मञ्चले अपिल गरेको छ ।

मौसम अझै प्रतिकूल रहेकाले नदी तटीय क्षेत्र तथा पहिरोको जोखिममा रहेका बासिन्दालाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।

विपद्को कठिन घडीमा पीडित परिवारको साथमा उभिँदै उद्धार, राहत तथा पुनरोत्थानका कार्यमा एकजुट हुन नागरिक मञ्च गण्डकी प्रदेशले सबैमा हार्दिक अपिल गरेको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार