मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

चिल्ड्रेन नेपालको २९ औं वार्षिक साधारणसभा सम्पन्न

पोखरा । बालअधिकार प्रवर्धन, सामाजिक रूपान्तरण र दिगो विकासको क्षेत्रमा सक्रिय संस्था चिल्ड्रेन नेपालको २९ औं वार्षिक साधारणसभा २०८२ मङ्सिर २० गते पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रमका अवसरमा संस्थाको वार्षिक समाचारपत्रिका उज्यालोको खोजी–२०८२, अङ्क १६ को विमोचन अध्यक्ष शान्त पौडेल, निवर्तमान अध्यक्ष तथा संरक्षक भिमलाल गुरुङ, कार्यसमितिका पदाधिकारी तथा कार्यकारी निर्देशकका संयुक्त हातबाट गरिएको थियो ।

कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले संस्थाको दिगोपन र आत्मनिर्भरताका लागि अघि बढाइएका गतिविधि, उपलब्धि तथा आगामी योजनाबारे जानकारी प्रस्तुत गर्नु भयो ।

उहाँका अनुसार २०५२ सालमा स्थापना भएदेखि नै संस्थाले बालअधिकार संरक्षण एवम् प्रवर्धन, महिला सशक्तीकरण, शान्ति निर्माण र वातावरण संरक्षणका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ ।

अध्यक्ष शान्त पौडेलले संस्थाले विभिन्न खाले जोखिममा रहेका सिमान्तकृत समुदायमाथि केन्द्रित गर्दै सामाजिक सेवाका गतिविधिहरू सञ्चालन गरिरहेको बताउनु भयो ।

उनले संस्थाको प्रगतिमा कार्यसमिति, सदस्य, कर्मचारी, साझेदार संस्था, सरकारी निकाय तथा शुभेच्छुकहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै भविष्यमा सेवा झनै प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

सभामा आर्थिक वर्ष २०८१/०८२ को प्रगति प्रतिवेदन महासचिव जयन्द्र भट्टराईले प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी आर्थिक प्रतिवेदन तथा आगामी वर्ष २०८२/०८३ का कार्यक्रम र बजेट कोषाध्यक्ष कुलप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको थियो । दुवै प्रतिवेदन छलफलपछि सर्वसम्मत पारित गरिएका छन् ।

अवलोकन सत्रमा बोल्दै संस्थाका पूर्व सल्लाहकार धनेश्वर रखालले चिल्ड्रेन नेपालले सामाजिक तथा आर्थिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै संस्थाले आगामी दिनमा थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गर्नु भयो ।

कार्यसम्पादन मूल्याङ्कनका आधारमा लेखा तथा प्रशासन अधिकृत हरीप्रसाद पोख्रेल र भण्डार सहायक होममाया कार्कीलाई प्रशंसापत्र, नगद पुरस्कार र दोसल्लाले सम्मान गरिएको थियो ।

त्यस्तै, सुर्यमुखी हस्तकला कार्यक्रमअन्तर्गत सक्रिय उत्पादकहरूलाई समेत नगद पुरस्कार प्रदान गरिएको थियो ।

यस वर्ष रूपा बि.के. उत्कृष्ट उत्पादक घोषित भई प्रशंसापत्र, नगद र दोसल्लाले सम्मानित हुनु भयो ।

संस्थाका निवर्तमान अध्यक्ष तथा संरक्षक भिमलाल गुरुङलाई संस्थाको आजको समृद्ध अवस्थामा पुर्याउन गरेको उल्लेखनीय योगदानको कदरस्वरूप सम्मानपत्रद्वारा सम्मान गरियो ।

गुरुङले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै संस्थाको प्रगतिमा निरन्तर सहकार्य जारी राख्ने आग्रह गर्नुभयो ।

कार्यक्रम संस्थाका अध्यक्ष शान्त पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन सचिव कृष्णप्रसाद खराल र कार्यसमिति सदस्य मिना भण्डारीले संयुक्त रूपमा गर्नु भएको थियो ।

Author

Related News