मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

चिल्ड्रेन नेपालद्वारा शैक्षिक सामग्री वितरण

पोखरा । “मेरो दिन, मेरो अधिकार” र “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने नारासहित अन्तर्राष्ट्रिय बाल अधिकार दिवस-२०२५ (नोभेम्बर २०) को अवसरमा चिल्ड्रेन नेपाल, पोखराले विभिन्न विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।

पोखरा महानगरपालिका-७ का वडा अध्यक्ष राममोहन आचार्यले बालबालिकाको क्षेत्रमा चिल्ड्रेन नेपालले अभिभावकजस्तै भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै, राष्ट्रिय नारालाई सफल बनाउन स्थानीय सरकारको तर्फबाट सहकार्य र समन्वय जारी रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

एक कार्यक्रमका बिच अध्यक्ष आचार्यले श्रीकृष्ण मावि, जनप्रिय मावि, श्रीराम आधारभूत विद्यालय र धर्मस्थली आधारभूत विद्यालयमा चिल्ड्रेन नेपालको सहयोगमा अध्ययनरत ५२ जना बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो स्वेटर वितरण गर्नु भयो ।

चिल्ड्रेन नेपालका निवर्तमान अध्यक्ष तथा राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य भीमलाल गुरुङले बाल अधिकारको कानुनी र व्यवहारिक कार्यान्वयन अपरिहार्य रहेको बताउँदै, बालबालिकाको भविष्य निर्माणमा साझा लगानीको महत्वलाई जोड दिनु भयो ।

उहाँले अन्तर्राष्ट्रिय दिवसको राष्ट्रिय नारालाई सार्थक बनाउन यस्तो कार्यक्रमले थप ऊर्जा प्रदान गरेको उल्लेख गर्नु भयो ।

सिर्जनशील बाल स्वावलम्बन समूहकी सचिव क्यारिस्का नेपालीले विद्यालय निरन्तरतासँगै क्षमता विकासका अवसर प्राप्त गर्दा बालबालिकाको आवाज र सहभागिताको अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिनु भयो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष विजयकुमार कार्की, श्रीकृष्ण माविका प्रधानाध्यापक प्रेम चपाईंलगायतले बालबालिकाको हित र भविष्य निर्माण साझा दायित्व भएकाले सबैलाई प्रेरित हुनुपर्ने धारणा प्रस्तुत गर्नु भयो ।

संस्थाले विभिन्न कार्यक्रममार्फत करिब ४ सय बालबालिकालाई शैक्षिक सामग्री र न्यानो स्वेटर वितरण गर्दै आएको छ ।

संस्थाका अध्यक्ष शान्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले स्वागत मन्तव्य राख्दै संस्थाले बाल अधिकार र शिक्षाको क्षेत्रमा गरेको कामबारे जानकारी दिनु भयो । कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक रमेश सुबेदीले गर्नु भयो।

Author

Related News