सिन्धुली । मरिण गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको तलब तथा प्रोत्साहन रकम वृद्धि गरेको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ को साउन महिनादेखि लागू हुने गरी आफ्नो अनुदानमा कार्यरत शिक्षक तथा कर्मचारीको मासिक पारिश्रमिकमा दुई हजार रुपियाँका दरले वृद्धि गरेको हो ।
गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानले सङ्घीय सरकारले चालु आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब वृद्धि गरेपछि गाउँपालिकाले पनि आफ्नो अनुदानमा कार्यरत शिक्षक तथा कर्मचारीको पारिश्रमिक वृद्धि गरेको जानकारी दिनुभयो ।
गाउँपालिका शिक्षा शाखा प्रमुख यज्ञबहादुर श्रेष्ठका अनुसार गाउँपालिकाको अनुदानमा हाल विभिन्न सामुदायिक विद्यालयमा माध्यमिक तहका तीन, आधारभूत तहका १४, प्राथमिक तहका ११ तथा बालविकास सहजकर्ता १९ जना कार्यरत छन् ।
पारिश्रमिक वृद्धि भएपछि गाउँपालिकाको अनुदानमा कार्यरत माध्यमिक तहका शिक्षकले मासिक ३६ हजार ५ सय रुपियाँ, आधारभूत तहका शिक्षकले ३० हजार ७ सय ५० रुपियाँ, प्राथमिक तहका शिक्षकले २५ हजार रुपियाँ र बालविकास सहजकर्ताले २२ हजार रुपियाँ पारिश्रमिक पाउने भएका छन् ।
त्यसैगरी, सङ्घीय अनुदानअन्तर्गत विभिन्न विद्यालयमा कार्यरत २९ जना बालविकास सहजकर्ता, १२ जना लेखा सहायक र ४८ जना विद्यालय सहयोगी कर्मचारीलाई पनि गाउँपालिकाले मासिक २ हजार रुपियाँका दरले प्रोत्साहन रकम उपलब्ध गराउने जनाएको छ ।
गाउँपालिका अध्यक्ष मुक्तानका अनुसार मरिण गाउँपालिकामा ४५ ओटा सामुदायिक विद्यालय सञ्चालनमा छन् ।
विद्यालयमा कार्यरत शैक्षिक जनशक्तिको पारिश्रमिक वृद्धि गर्दा शिक्षक तथा कर्मचारीको मनोबल बढ्नुका साथै विद्यालयको शैक्षिक वातावरणमा समेत सकारात्मक प्रभाव पर्ने उहाँले बताउनुभयो ।