मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

हेटौंडा बजार भत्किएको विषयमा आक्रोशपछि मुख्यमन्त्री बानियाँको स्पष्टीकरण

रुद्रबहादुर खड्का, सिन्धुली ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनप्रतिनिधिको अभाव र जनताको सरकार नहुँदा हेटौंडा बजार भत्किएको बताउनु भएको छ ।

सिन्धुली उद्योग वाणिज्य सङ्घको ३५औँ वार्षिक साधारणसभालाई २०८२ मङ्सिर २३ गते सम्बोधन गर्दै उनले व्यापारीहरूको गुनासोमाथि जबाफ दिँदै यस्तो धारणा राख्नु भएको हो ।

कार्यक्रममा सहभागी उद्योगी–व्यवसायीहरूले सरकारले हेटौंडा बजार भत्काएर व्यापारीहरूलाई विस्थापित बनाएको भन्दै कडा आक्रोश व्यक्त गर्नुभएको थियो ।

त्यसपछि मुख्यमन्त्री बानियाँले स्पष्ट पार्दै भन्नु भयो-“जुन समयमा जनताको सरकार र प्रतिनिधि थिए, त्यो बेला हेटौंडा बजार लामो समयसम्म भत्किएन । तर, जब जनताका प्रतिनिधि रहेनन्, तब बजार भत्काइएको हो ।”

मुख्यमन्त्री बानियाँले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै विकास–निर्माणका काम अघि बढाइरहेको, शिक्षालाई प्रविधिमैत्री बनाउने र जनताको मागअनुसार नीतिगत काम अघि बढाउने प्रतिबद्धता जनाउनु भयो ।


उहाँका अनुसार, आगामी प्रतिनिधि सभा निर्वाचनका लागि बागमती प्रदेश सरकार पूर्ण रूपमा सहयोग गर्न तयार छ ।

केन्द्र सरकारप्रति इङ्गित गर्दै उहाँले भन्नु भयो-“सरकारले वास्तवमै निर्वाचन गर्ने दृढ सङ्कल्पसहित मिति तोकेको हो, वा केवल घोषणा मात्रै गरेको हो-यो स्पष्ट हुनुपर्छ । यदि साँच्चिकै निर्वाचन गर्ने हो भने प्रदेश सरकारले सबै किसिमको वातावरण बनाउन तयारी गरेको छ ।”

समारोहमा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले हेटौंडाका घटनाप्रति कडा आपत्ति जनाए ।


उनका अनुसार, अदालतले ‘स्टे अर्डर’ जारी गरे पनि त्यसको अवहेलना गरेर बिहान झिसमिसेमै ५ सय ३१ भन्दा बढी घर र सटर भत्काइएको छ ।


श्रेष्ठले भन्नु भयो-“अदालतको आदेशसम्म नमानी हजारौं व्यापारीलाई सडकमा ल्याइएको छ । व्यवसायीको संरक्षण बिना देशको आर्थिक समृद्धि सम्भव हुँदैन ।”

सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अर्जुन श्रेष्ठले सङ्घले व्यवसायीको हकहितसँगै सामाजिक उत्तरदायित्व बहन गर्दै आएको बताउनु भयो ।

आर्थिक अभावका कारण उपचार नपाएका विपन्न नागरिकको सहयोगार्थ छिट्टै एक ‘अक्षयकोष’ स्थापना गर्ने तयारी भइरहेको पनि उहाँले जानकारी दिनु भयो ।

Author

Related News