मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

आचारसंहिता पालना गर्न मुख्य निर्वाचन अधिकृत विष्टको अनुरोध

रुद्रबहादुर खड्का, सिन्धुली ।

सिन्धुली जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजक कमलराज विष्टले जिल्लामा क्रियाशील राजनीतिक दल, उम्मेदवार, दलका प्रतिनिधि, भातृ सङ्गठन, सङ्घसंस्था, कर्मचारी, सुरक्षाकर्मी तथा आचारसंहितामा उल्लेख गरिएका सबै पक्षलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।

२०८२ माघ १३ गते सिन्धुलीमाढीमा सम्पन्न निर्वाचन आचारसंहिता अनुगमन समितिको छलफल कार्यक्रममा सम्बोधन गर्दै विष्टले आचारसंहिता पालना गरी निर्वाचनलाई मर्यादित, अनुशासित, सुरक्षित र भय–रहित बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।

छलफल कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुख, नागरिक समाज तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।

सो अवसरमा विष्टले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सबै पक्षले आ–आफ्नो जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिनु भयो ।

आचारसंहिता उल्लङ्घन भएमा कानुनअनुसार कारबाही हुने भएकाले सबैलाई सचेत रहन उहाँले आग्रह गर्नु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले भयरहित, सुरक्षित र मर्यादित निर्वाचन सम्पन्न गर्न सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताउनु भयो ।

उहाँले आचारसंहिता अनुगमन, नियमन तथा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन राजनीतिक दल, सुरक्षाकर्मी, कर्मचारी, पत्रकार तथा नागरिक समाजले आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिनु भयो ।

निर्वाचन आचारसंहितामा रहेका व्यवस्थाबारे जानकारी गराउँदै श्रेष्ठले निर्वाचन प्रचारप्रसारलगायतका कार्यक्रम प्रशासनलाई पूर्व जानकारी गराएर मात्र सञ्चालन गर्न राजनीतिक दलहरूलाई आग्रह गर्नु भयो ।

सुरक्षाको उचित व्यवस्थापनका लागि दलका कार्यक्रमहरूबारे पूर्वसूचना दिनु आवश्यक रहेको उहाँको भनाइ थियो ।

त्यस्तै, निर्वाचन आचारसंहिता उल्लङ्घन भएको खण्डमा त्यससम्बन्धी सूचना, जानकारी तथा उजुरी आयोगले तोकेका अनुगमनकर्ता वा आचारसंहिता अनुगमन समितिमा गराउन सबै पक्षलाई अनुरोध गरिएको छ ।

Author

Related News