रुद्रबहादुर खड्का, सिन्धुली ।
कमलामाई नगरपालिका वडा नं १० स्थित चदाहा खोलाको पुलको निर्माण कार्य पाँच वर्षदेखि अलपत्र छ ।
स्थानीयले दैनिक सास्ती खेपिरहेको कमलामाई नगरपालिका वडा नं. १० का वडाअध्यक्ष दीपबहादुर कार्कीले बताउनुभएको छ ।
कमलामाई नगरपालिका अन्तर्गत वडा नं. १० को दोभानबाट वडा नं. १३ को रुचानी जोड्ने चदाहा खोलाको पुल पाँचवर्षदेखि निर्माण हुन नसकेको अवस्था छ ।
पाँच वर्षअघि १२ करोड ५० लाख रुपियाँको लागतमा इलाइट प्यासिपिक जेभी नामको निर्माण कम्पनीले उक्त पुल निर्माण गर्न जिम्मा लिएको थियो ।
सम्झौता अनुसार २०८१ वैशाख १२ गते भित्रमा पुल निर्माण गरी सञ्चालन हुनु पर्दथ्यो । तर, हालसम्म पनि पुल निर्माणको काम पूरा हुन नसकेको कमलामाई नगरपालिका वडा नं. १३ का वडाध्यक्ष केशरबहादुर कार्कीले जानकारी दिनुभएको छ ।
पुल निर्माणका लागि करिब ५ करोड रुपियाँ भुक्तानी गरेको भएपनि बाँकी काम ठप्प भएको छ । कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले पटकपटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएतापनि कुनै परिणाम नदेखिएको बताउनु भयो ।
पुल अलपत्र भएपछि स्थानीय तथा यही बाटो भएर ओहोसदोहोर गर्ने यात्रुलाई चदाहाखोला पार गर्नु जोखिमपूर्ण हुँदै आएको छ ।