भक्तपुर । नेपाल सरकार, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले काठमाडौँ उपत्यकाभित्रका सामाजिक अध्ययन विषयका विज्ञ तथा रोस्टरहरूसँग दुई दिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सामाजिक अध्ययन विषयको पाठ्यक्रम तथा पाठ्यसामग्री विकास, मूल्याङ्कन र कार्यान्वयनसँग सम्बन्धित विविध विषयमा सहजीकरण तथा छलफल गरिएको थियो ।
क्षमता विकास कार्यक्रमअन्तर्गत पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा मूल्याङ्कनका कानुनी व्यवस्था विषयमा पाठ्यक्रम अधिकृत कुमार घिमिरेले सहजीकरण गर्नुभएको थियो भने पाठ्यक्रम तथा पाठ्यसामग्रीमा सक्षमता र सिकाइ उपलब्धिको प्रयोग विषयमा निर्देशक नवीनकुमार खड्काले प्रस्तुति दिनुभएको थियो ।
यस्तै, पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा मूल्याङ्कनका सैद्धान्तिक पक्षहरूबारे निर्देशक पुरुषोत्तम घिमिरेले सहजीकरण गर्नुभएको थियो ।
आधारभूत तह र माध्यमिक तहको सामाजिक अध्ययन विषयको पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा मूल्याङ्कनसम्बन्धी विषयमा निर्देशक दिनानाथ गौतम र अधिकृत कमल प्रसाद मिश्रले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा कक्षा ४ देखि १२ सम्मको परिमार्जित सामाजिक अध्ययन पाठ्यक्रम कार्यान्वयनका क्रममा देखिएका विषयवस्तु, सिकाइ उपलब्धि तथा मूल्याङ्कन प्रक्रियाका विविध पक्षमा सहभागीहरूबीच गहन छलफल गरिएको थियो ।

छलफलका क्रममा केही सहभागीहरूले सामाजिक अध्ययन विषय व्यापक र बहुविषयगत भएकाले विद्यार्थीका लागि कठिन भएको धारणा राख्दै पाठ्यक्रममा थप परिमार्जन आवश्यक रहेको सुझाव दिएका थिए ।
यस सन्दर्भमा सहजकर्ताहरूले सामाजिक अध्ययन विषयले शिक्षाका राष्ट्रिय उद्देश्य पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले विषयगत गहिराइका साथ जिम्मेवारीपूर्वक कार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कानुनी प्रक्रिया पूरा गरी छनोट भएका विज्ञहरूलाई यसपटक पहिलोपटक औपचारिक रूपमा क्षमता अभिवृद्धि गराइएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।
दुई दिने कार्यशालाको समापन सत्रमा सहभागीको तर्फबाट बोल्दै विज्ञ तथा फूल्चोकी माध्यमिक विद्यालयका शिक्षक नवराज सञ्जेलले पाठ्यक्रम, पाठ्यपुस्तक र मूल्याङ्कन प्रक्रियाको पूर्ण कार्यान्वयनमा विज्ञ, शिक्षक, विद्यालय प्रशासन र अन्य सरोकारवालाको साझा जिम्मेवारी रहने बताउनु भयो ।
साथै उहाँले यस्ता महत्वपूर्ण छलफलमा काठमाडौँ उपत्यका बाहिरका रोस्टर विज्ञहरूलाई समेत समावेश गर्न सुझाव दिनु भयो ।
पाठ्यक्रम विकास केन्द्रले रोस्टर सूचीमा सूचीकृत विज्ञहरूको क्षमता अभिवृद्धिलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।