पोखरा । न्यायमा समान पहुँच प्रवर्धन गर्ने उद्देश्यसहित स्थानीय तहमा कार्यरत न्यायिक सहजकर्ताहरूका लागि क्षमता अभिवृद्धि तथा आत्ममूल्यांकन तालिम पोखरामा सुरु भएको छ ।
“व्यवहारमा परिवर्तन, कार्यसम्पादनमा सुधार” नारालाई आत्मसात गर्दै (An ISO 9001:2015 Certified Academy) गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, पोखराको आयोजनामा २०८२ माघ ११ गतेदेखि तालिम सञ्चालन गरिएको हो ।
जिल्ला सहकारी सङ्घको सभाहलमा आयोजित तालिममा कास्की, स्याङ्जा, लमजुङ र मनाङ जिल्लाका २८ वटा स्थानीय तहमा कार्यरत न्यायिक सहजकर्ताहरूको सहभागिता रहेको छ ।
तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले न्याय लहड वा भावनाका आधारमा नभई कानुनको आधारमा हुनुपर्ने बताउनु भयो ।
स्थानीय तहका न्यायिक समिति निष्पक्ष र कामकाजी बन्दा समग्र न्याय प्रणालीको गरिमा बढ्ने उल्लेख गर्दै उनले न्याय सम्पादन गर्दा प्रक्रियागत शुद्धता र कानुनी मर्ममा ध्यान दिन न्यायिक सहजकर्ताहरूलाई आग्रह गर्नु भयो । स्थानीय स्तरमै विवाद निरूपण हुँदा नागरिकले छिटो र सहज रूपमा न्याय पाउने उहाँले बताउनु भयो ।
तालिममा न्यायिक सहजकर्ताको काम, कर्तव्य र अधिकार, उजुरी लिने कार्यविधि, विवाद निरूपण प्रक्रिया, लैंगिकमैत्री न्याय निरूपण, न्यायिक अधिकारको प्रयोग, समितिको अधिकार क्षेत्र, मेलमिलाप प्रक्रिया, अन्य निकायसँगको अन्तरसम्बन्ध तथा निर्णय लेखनका विषयमा प्रशिक्षण र छलफल हुने प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिनाले जानकारी दिनु भयो ।
प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले तालिममा न्यायिक समितिले भोगिरहेका चुनौती र समाधानका उपायबारे अनुभव आदान–प्रदान गरिने बताउनु भयो ।
स्थानीय तहका न्यायिक समितिलाई अझ प्रभावकारी र कामकाजी बनाउन तालिम सञ्चालन गरिएको उहाँको भनाइ थियो ।
दुई दिनसम्म सञ्चालन हुने तालिममा मुख्य न्यायाधिवक्ता पौडेलसहित सहप्राध्यापक डा. भीमनाथ बराल, पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ र उपप्राध्यापक कृष्णप्रसाद तिमिल्सिनाले सहजीकरण गरिरहनु भएको छ ।
प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रम उद्देश्यबारे निर्देशक एवं कार्यक्रम संयोजक लक्ष्मण तिमिल्सिनाले स्थानीय तहमा न्यायिक प्रक्रियालाई व्यवस्थित बनाउन यस्ता प्रशिक्षण प्रभावकारी हुने उल्लेख गरे। कार्यक्रमको सञ्चालन प्रतिष्ठानका प्रशिक्षण अधिकृत मनोज पौडेलले गरेका थिए।