पोखरा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि कास्की जिल्लामा प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन दर्ता माघ ६ गते सम्पन्न भएको छ ।
प्रदेश निर्वाचन कार्यालय गण्डकी, पोखराका प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले निर्वाचन आयोगको कार्यतालिकाअनुसार कास्कीका तीन ओटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनु भयो ।
प्रदेश निर्वाचन अधिकारी ढकालका अनुसार उम्मेदवारी दर्तालाई सहज, व्यवस्थित र भीडभाडरहित बनाउन राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका लागि फरक–फरक समय निर्धारण गरिएको थियो ।
सोही व्यवस्थाका कारण मनोनयन दर्ता शान्तिपूर्ण र अनुशासित रूपमा सम्पन्न भएको उहाँले बताउनु भयो ।
कास्की जिल्लामा प्रतिनिधिसभा सदस्य पदका लागि तीन ओटा निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचन क्षेत्र नम्बर–३ का लागि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, मालेपाटन, पोखरा–५ लाई निर्वाचन अधिकृतको कार्यालय तोकिएको थियो ।
यस्तै निर्वाचन क्षेत्र नम्बर–२ का लागि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाको कार्यालय, पोखरा–१७, ड्यामसाइड र निर्वाचन क्षेत्र नम्बर–१ का लागि पशुपन्छी अनुसन्धान, विकास तथा प्रशिक्षण केन्द्र, पोखरा–१२, रामघाटलाई निर्वाचन अधिकृतको कार्यालय तोकिएको थियो ।
मनोनयन दर्ताको प्रारम्भिक विवरणअनुसार कास्की जिल्लामा प्रत्यक्षतर्फ ४४ जना पुरुष र पाँच जना महिला गरी जम्मा ४९ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
मनोनयन दर्ता कार्यक्रमको क्रममा राष्ट्रिय मानवअधिकार आयोग, पोखरा कार्यालयका प्रमुख नितु गर्तौला तथा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोग) गण्डकी प्रदेश संयोजक विष्णुप्रसाद बरालको नेतृत्वमा अधिकारकर्मीहरूको टोलीले तीन ओटै मनोनयन दर्ता कार्यालयमा पुगेर निर्वाचन अधिकृतसँग छलफल तथा निर्वाचन प्रक्रियाको अनुगमन गरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
