मधु पन्थी, पोखरा ।
गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आधारभुत तहका जनताहरुले महसुस गर्नेगरी निर्माण गर्न लागिएको बताउनु भएको छ ।
रुपा गाउँपालिकाले २०८२ बैशाख २६ गते आयोजना गरेको पुर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तव्य राख्ने क्रममा मन्त्री पाठकले सो कुरा बताउनु भएको हो ।
प्रदेशको बस्तुगत अवस्थालाई ध्यानमा राखेर प्रदेश सरकार बजेट निर्माण गर्न जुटेको पनि उनले उल्लेख गरे ।
पुर्ण खोप कार्यक्रम राष्ट्रिय कार्यक्रम भएकोले यसलाई तिनै तहका सरकारहरुले महत्त्वका साथ कार्यान्वयन गर्नुपर्ने उहाँको भनाई थियो ।
१४ प्रकारका रोगहरुलाई १२ प्रकारका खोपहरु दिइँदै आएको र गण्डकी प्रदेशमा पनि २ हजार खोप केन्द्रहरु बाट २८ हजार बालबालिकाहरुलाई यी खोपहरु प्रदान गरिएको मन्त्री पाठकले बताउनु भयो ।
बैशाख महिना खोप महिना भएकोले खोज र खोप लगाउ अभियानमा सम्बन्धित स्वास्थ्यकर्मीहरु मेहनतका साथ लाग्न मन्त्री पाठकले स्वास्थ्यकर्मीहरुलाई आह्वान गर्नु भयो ।
कार्यक्रममा रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले गाउँपालिकालाई पुर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गर्न पाएकोमा गौरवको अनुभूति भएको बताउनु भयो ।