मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

जनचेतनामुलक कार्यक्रम गरी देवीचौरमा स्तनपान सप्ताह मनाइयो

ललितपुर । विश्व स्तनपान सप्ताहको अवसरमा २०८२ साउन २० गते ग्रामीणा सामुदायिक संस्था विकास  (रिकोड) र देवीचौर स्वास्थ्य चौकीको आयोजनामा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

हरेक वर्ष अगष्ट १ देखि ७ तारेखसम्म विश्व स्तनपान सप्ताह मनाउने गरिएको छ । विश्वभर मनाइने स्तनपान सप्ताहले आमाको दूधको फाइदाबारे जनचेतना जगाउने र स्तनपानलाई प्रवर्धन गर्ने विश्वास गरिएको छ ।

सन् २०२५ मा विश्व स्तनपान सप्ताहको विषयवस्तु स्तनपानमा केन्द्रित छ । यस वर्षको नाराले स्तनपानलाई प्राथमिकता दिन प्रेरित गरेको छ । यो वर्ष ‘स्तनपानलाई प्राथमिकता दिउँ, सहयोगी वातावरण निर्माण गरौँ’ भन्ने मुख्य नारा रहेको छ ।

रिकोडकी समुदाय सहजकर्ता गीता तिमल्सिनाले स्तनपान नवजात शिशुको लागि नैसर्गिक अधिकारको रूपमा परिभाषित गरिएको जानकारी दिनु भयो ।

सार्वजनिक सरोकारका कार्यालयमा प्रारम्भिक स्तनपानलाई प्रवर्धन तथा स्थापित गर्न मातृ शिशुमैत्री कक्षको व्यवस्था गर्नुपर्ने अहिलेको आवश्यकता रहेको तिमल्सिनाको भनाइ छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार, ५० करोडभन्दा बढी कामदार महिलालाई राष्ट्रिय कानुनमा आवश्यक मातृत्व सुरक्षा दिइएको छैन ।

केवल २० प्रतिशत देशहरूले रोजगारदाताहरूलाई विश्राम र स्तनपानका लागि सुविधाहरू प्रदान गरेको विभिन्न अध्ययन हरुले देखाएको छ ।

आफ्ना शिशुलाई नियमित रुपमा ६ महिना सम्म स्तनपान गराउन हरेक आमालाई प्रेरित गर्दै एक हप्ता सम्म स्तनपान सप्ताह मनाउने गरिएको छ ।

स्तनपान सप्ताहको अवसरमा बुरुञ्चुलीमा १ सय जनाभन्दा बढीको उपस्थितिमा चेतनानमूलक र्‍यालीका साथै सचेतनामूलक भिडियो प्रस्तुती र अन्तरक्रिया गरिएको थियो ।  

देवीचौरको स्वास्थ्य चौकीमा आयोजित अन्तरक्रियामा वडा सदस्य अजय बहादुर तामाङले स्तनपानका बारेमा बेलैदेखि जानकारी लिनुदिनु आवश्यक रहेको बताउनु भयो ।

बालमैत्री वडा घोषणा गर्ने चरणमा अएको बताउँदै तामाङले स्तनपान पनि एउटा महत्वपूर्ण सूचक भएको बताउनु भयो ।

रिकोडले देवीचौरमा सन् २०२२ को अप्रिलदेखि खाद्य सुरक्षा तथा पोषण सुधार परियोजना लागु गरेको छ ।

परियोजनमार्फत महिला शसक्तिकरण र पोषण सुधारका क्षेत्रमा आफ्ना क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

Author

Related News