मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

२४ वर्षदेखि बोलबमलाई निरन्तरता  

मधु पन्थी, पोखरा ।

“बोलबमको नाराले, शान्ति पाउन् साराले” भन्ने मूल नाराका साथ पोखरामा २४ वर्षदेखि मनाइँदै आएको बोलबम महामेला  यस वर्ष पनि आयोजना गरिने भएको छ ।

हिन्दु धर्म मान्नेहरूद्वारा साउन महिनालाई विशेष रूपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रूपमा लिइन्छ ।

साउन महिनाभर देशभरका शिवालय तथा शिव मन्दिरमा भक्तजनको विशेष भीड लाग्ने गर्दछ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिएको हुँदा साउनका चार ओटै सोमबार विशेष मेला चल्ने बोलबम संयोजक शङ्कर खरालले जानकारी दिनु भय‍ो । 

यस वर्षको साउन महिनामा चार ओटा सोमबार परेको र यी दिनमा हुने बोलबमको तयारी पुरा भएको आयोजक केदारेश्वर महादेव मणि सेवाश्रम समिति बैदामका अध्यक्ष  पीठाधीश डा. चित्घन चैतन्य महाराज लेखनाथ आचार्यले बताउनु भयो । 

 साउनको ५, १२, १९ र २६ गते सोमबार परेको छ । यी चार दिनमा पोखरा वडा नं १ बगरको शुक्लागण्डकी गाइघाटमा पुगेर १ सय ८ धारामा स्नान गरी सेती नदीको जल लिएर झाँकी, बाजागाजा, भजनकीर्तन गर्दै करिब आठ किमिको दूरी पैदलयात्रा गरेरै केदारेश्वरमा जलार्पण गर्ने गरिन्छ ।

यी दिनमा भक्तजनलाई ठाउँठाउँमा सर्वतपानी तथा मन्दिरमा प्रसादको व्यवस्था गरिएको छ । साउनमा भगवान् शिवको आराधना गर्दै ज्योतिर्लिङ्गमा गङ्गाजल र बेलपत्र जस्ता सामग्रीले पूजा गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

बोलबम हुने दिन मध्यान्हमा षोडस् उपचारसहित विशेष पूजा आराधनादेखि भजनकीर्तन गरिने छ भने सन्ध्याकालीन समयमा विशेष पूजासहित महाआरतीसँगै शिव साधना हुने छ ।

Author

Related News