पोखरा । प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र पोखराको प्राविधिक सहयोग तथा गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएशन नयाँबजार, पोखराको ३२ औँ वार्षिक उत्सवको अवसरमा २०८२ असोज २० गते रक्तदान गरिएको छ ।
खुल्ला रक्तदान कार्यक्रममा ३६ युनिट रगत सङ्कलन भएको आयोजकले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एशोसिएशनका प्रेस सल्लाहकार तथा ८२ औँ पटक रक्तदान गरसिकेका रक्तदान अभियन्ता, सामाजिक व्यक्तित्व तथा सञ्चार उद्यमी कृष्णबहादुर थापाले पहिलो रक्तदाता सीता पौडेल मिश्रलाई व्लड व्याग हस्तान्तरण तथा पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नु भयो ।
सञ्चार उद्यमी थापाले जोखिममा परेको ज्यान जोगाउन रगतको सट्टामा रगत नै भएकोले रक्तदान जस्तो पुण्यको कर्म अर्को कुनै नभएको बताउनु भयो ।
‘मैले पहिलो पटक रक्तदान अटो मेकानिकलले आयोजनामा गरेको कार्यक्रममा नै गरेको थिएँ ।’-उहाँले भन्नु भयो-‘अहिलेसम्म आउँदा ८२ पटक रक्तदान गरिसकेको छु ।’
प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले रक्तदान जस्तो पवित्र कार्यमा संथागत रुपमा लाग्नु भएकोमा एशोसिएशन र पधाधिकारीहरुलाई आभार व्यक्त गर्दै पोखरामा रहेका अन्य सङ्घ संस्थाहरुलाई पनि नियमित वा आकस्मिक रुपमा रक्तदानका कार्यक्रमहरु आयोजना गर्न आग्रह गर्नु भयो ।
संस्थाका स्वास्थ्य सल्लाहकार डा.रवीन्द्र श्रेष्ठले शरीरमा रहेको रगतलाई तीनतीन महिनाको फरकमा दिएमा स्वस्थ पनि भइने र अरुको जीवन बचाउन पनि सकिने भएकोले आफैँ मरेर जाने रगतलाई दान गरी जोखिममा परेको जीवन बचाउन रगत दान गर्नु जस्तो पवित्र कार्य अरु हुनै नसक्ने बताउनु भयो ।
रक्तदान कार्यक्रम संयोजक रामबहादुर नेपाली, नेपाल रेडक्रस सोसाइटी गण्डकीका सभापति सूर्यप्रसाद ढकाल, संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार सनतकुमार भट्टराई, निवर्तमान अध्यक्ष सन्तोषकुमार मिश्र, रक्तदाता माधव खतिवडा, पत्रकार आर्जु विष्ट सल्यानीलगायतले रक्तदानको महत्वका बारेमा विचार राख्नु भएको थियो ।
यो अवसरमा रक्तदान गरेका रक्तदाताहरुलाई प्रमुख अतिथि कृष्ण थापा, पूर्व अध्यक्ष तथा संस्थाका सल्लाहर सानुमान जलारी, अध्यक्ष विष्णुप्रसाद अधिकारीलगायतले प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
एशोसिएशनका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संस्थाका स्वास्थ्य सल्लाहकार डा.रवीन्द्र श्रेष्ठले र सञ्चालन महासचिव वीरेन्द्र चौधरीले गर्नु भएको थियो ।