मानव आवाज

२०८३ असार ३० गते
00: 00: 00
२०८३ असार ३० गते

डेभिजफल बचत तथा ऋण सहकारीद्वारा वार्षिकोत्सवमा रक्तदान

पोखरा । पोखरा महानगरपालिका-१७, बरालफिडस्थित डेभिजफल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको १५औँ वार्षिकोत्सवको अवसरमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

२०८३ असार २९ गते सम्पन्न कार्यक्रममा ५१ युनिट रगत सङ्कलन भएको आयोजकले जनाएको छ ।

“रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने मूल नारासहित आयोजित कार्यक्रम नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भिमबहादुर कार्कीले संस्थाका प्रबन्धक यज्ञप्रसाद भण्डारीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन समारोहमा मन्त्री कार्कीले सहकारी संस्थाहरूले आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेकोमा संस्थाको प्रशंसा गर्नुभयो ।

केही सहकारीले आर्थिक तथा वित्तीय अनुशासन कायम नगर्दा समग्र सहकारी अभियान नै प्रभावित भइरहेको पनि उहाँले बताउनुभयो ।

संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक राजेन्द्र थापाले २०६८ सालमा स्थापना भएको सहकारीले वार्षिकोत्सवका अवसरमा निरन्तर रक्तदान कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिनुभयो ।

उहाँले रक्तदानलाई मानव सेवाको उत्कृष्ट माध्यमका रूपमा व्याख्या गर्दै सङ्कलित रगतले आकस्मिक तथा नियमित उपचारका क्रममा रगत आवश्यक पर्ने बिरामीलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका-२२ की वडा सदस्य कृष्णकुमारी पौडेल, वरिष्ठ समाजसेवी चन्द्रकान्त बराल, संस्थाका सल्लाहकार देवीबहादुर थापा र युवक लामिछाने, लेखनाथ बराल ‘गोपी’ गुरुकुलका प्राचार्य विजयराज आचार्य, गुप्तेश्वर क्याम्पसका अध्यक्ष ग्याज शर्मा, लोक कल्याणकारी सहकारीका अध्यक्ष पूर्णदीप सिक्देल तथा संस्थाका प्रबन्धक यज्ञप्रसाद भण्डारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष राजन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव प्रकाश सुवेदीले गर्नुभएको थियो ।

Author

Share the News

Recent News

Related News