सौराह । “आत्म मोक्षार्थ जगत् हिताय” भन्ने मूल मन्त्रसहित स्थापित सामाजिक संस्था आनन्द मार्ग प्रचारक सङ्घ नेपाल, काठमाडौँको २८औँ केन्द्रीय वार्षिक साधारणसभा तथा नवौँ अधिवेशन २०८२ फागुन ३० गते बाघमारा सौराहा, चितवनमा सम्पन्न भएको छ ।
अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि वरिष्ठ मानव अधिकारकर्मी एवम् नागरिक समाजका अगुवा विष्णुप्रसाद बरालको नेतृत्वमा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा निलकण्ठ माकाजु, महासचिवमा रविन्द्र श्रेष्ठ, सचिवमा बेदकण्ठ श्रेष्ठ योगल र कोषाध्यक्षमा जीवनाथ श्रेष्ठ चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरूमा कल्पना बास्तोला, बैजु साह, दुर्गा क्षेत्री, जगत खत्री (प्रभात), निशान्त निरौला, यशोदा निरौला र तेजनारायण यादव निर्विरोध चयन हुनुभएको निर्वाचन अधिकृत तथा संस्थाका पूर्व अध्यक्ष मनबहादुर रानाभाटले जानकारी दिनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि आचार्य परमेश्वरानन्द अवधूतले मानव जीवनमा आध्यात्मिक साधना पद्धतिको आवश्यकता अत्यन्त महत्त्वपूर्ण रहेको बताउनु भयो ।
उहाँका अनुसार आनन्द मार्ग नैतिकवान् मानव निर्माण गर्ने आध्यात्मिक संस्था हो । यसका लागि आवश्यक व्यवहारिक, सामाजिक तथा आध्यात्मिक आदर्श श्रीश्री आनन्दमूर्तिले विश्वमा पहिलोपटक प्रतिपादन गर्नुभएको उहाँको भनाइ थियो ।
उहाँले आनन्द मार्गका आदर्श र मूल्य-मान्यता आचरण, साधना र शिक्षाबिना सम्भव नभएको उल्लेख गर्नु भयो ।
सङ्घका अध्यक्ष बरालले करिब ५७ वर्षअघि आनन्द मार्गका गतिविधि नेपालमा अनौपचारिक रूपमा सुरु भएको जानकारी दिनु भयो ।
सन् १९५५ मा श्रीश्री आनन्दमूर्तिद्वारा भारतमा स्थापना भएको यो संस्थाका गतिविधि नेपालमा प्रारम्भिक चरणमा अग्रजहरूले अनौपचारिक रूपमा सञ्चालन गर्दै आएको उहाँले बताउनु भयो ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि संस्था दर्ता ऐन २०३४ अन्तर्गत २०४७ भदौ ४ गते संस्थालाई विधिवत् दर्ता गरी गतिविधिहरू संस्थागत रूपमा सञ्चालन गरिँदै आएको पनि उहाँले उल्लेख गर्नु भयो ।
सङ्घले विश्व भ्रातृत्व, विश्व प्रेम, मानवता र विश्व शान्ति स्थापना गर्ने उद्देश्यका साथ गतिविधि सञ्चालन गर्दै आएको अध्यक्ष बरालको भनाइ थियो ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष आचार्यद्वय महेन्द्र श्रेष्ठ र मनबहादुर रानाभाट, केन्द्रीय उपाध्यक्ष वालदेव साह तथा मनिषमणि श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नु भयो ।

उनीहरूले आनन्द मार्गको आदर्श समाजमा स्थापित गर्न सेवामूलक गतिविधि र शिक्षामार्फत काम भइरहेको बताउनु भयो ।
यस क्रममा संस्थाले नेपालका विभिन्न जिल्लामा शैक्षिक संस्था स्थापना तथा सञ्चालन गर्दै आएको जानकारी पनि दिइयो ।
साधारणसभामा महासचिव रविन्द्र श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति तथा योजना प्रतिवेदन र कोषाध्यक्ष बेदकण्ठ योगलले प्रस्तुत गर्नुभएको आय–व्यय तथा लेखापरीक्षक प्रतिवेदन छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको थियो ।
कार्यक्रममा मोरङ, सुनसरी, धनुषा, महोत्तरी, कास्की, काभ्रे, सर्लाही, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र सिन्धुली जिल्लाका भुक्ति समितिका पदाधिकारी तथा आनन्दमार्गीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।