मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

भुमिगत सङ्घर्षदेखि संसदीय राजनीतिसम्मको यात्रामा भिमसेन

ललितपुर । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य भिमसेन घिमिरे ‘विपिन’ ललितपुर निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि गुलाफ फूलको चिन्हसहित उम्मेदवार बन्नु भएको छ । गुलाफ फूल नेकपा माओवादीको चुनाव चिन्ह हो ।

लामो समयदेखि भुमिगत सङ्घर्ष, जनआन्दोलन र सङ्गठनात्मक राजनीतिमा सक्रिय घिमिरे आफूलाई रुपान्तरणकारी राजनीतिक व्यवस्थाको हिमायतीका रुपमा प्रस्तुत गर्नु हुन्छ ।

२०३८ साल माघ २५ गते इकुडोलमा निम्न किसान परिवारमा जन्मनु भएका घिमिरेले इकुडोलकै बिज्ञान प्रभा निमावि र जनजागृति माविबाट विद्यालय शिक्षा र पाटन संयुक्त क्याम्पसबाट आईएसम्मको औपचारिक शिक्षा हासिल गर्नु भएङ्को छ ।

औपचारिक शिक्षासँगै उहाँले इतिहास, दर्शन, समाजशास्त्र र अर्थशास्त्रमा स्वअध्ययन गर्दै बौद्धिक रुचि विकास गर्नु भएको छ ।

घिमिरे २०५६ सालमा तत्कालीन नेकपा (माओवादी) मा सङ्गठित हुँदै २०५८ सालदेखि पूर्णकालीन रूपमा जनयुद्धमा संलग्न हुनु भएको बताउनु हुन्छ । यसक्रममा उहाँले २०५८ सालदेखि २०६० सालसम्म जेल जीवन बिताउनु भएको छ ।

जेलमुक्त भएपछि पुनः भुमिगत राजनीतिमा सक्रिय घिमिरे २०६२ सालमा माओवादी जिल्ला कमिटी सदस्य तथा अखिल (क्रान्तिकारी) जिल्ला उपाध्यक्ष र शान्ति प्रक्रियापछि २०६४ सालमा ललितपुर क्षेत्र नं. १ को पार्टी सचिव बन्नु भयो ।

२०८० सालमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित घिमिरे हाल ललितपुर जिल्ला पार्टी इन्चार्जको भूमिकामा कार्यरत हुनुहुन्छ । यस क्रममा उहाँले पार्टीको केन्द्रीय स्कुलिङ विभागमा पनि काम गर्नु भएको छ ।

घिमिरे गणतन्त्र स्थापनाका लागि भएको भुमिगत सङ्घर्ष, उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गको अधिकारका पक्षमा निरन्तर सङ्घर्षमा रहेको बताउनु हुन्छ ।

सामाजिक विभेद, भ्रष्टाचार, कालोबजारी, महिला हिंसा, मिटरव्याज, कर छलि र दलाली प्रवृत्तिविरुद्ध आवाज उठाउँदै आउनु भएका घिमिरे समाजवादी व्यवस्था स्थापना नै आफ्नो एकसूत्रीय उद्देश्य रहेको बताउनु हुन्छ ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा निजीकरणको अन्त्य गर्दै राज्यको जिम्मेवारीमा पूर्ण निःशुल्क सेवा हुनुपर्ने उहाँको धारणा छ ।

ललितपुर–१ बाट उम्मेदवार बन्नु भएका घिमिरे आफू संसदलाई सङ्घर्षको नयाँ मोर्चा बनाउँदै राज्य र समाज रूपान्तरणका मुद्दालाई सशक्त रूपमा उठाउने बताउनु हुन्छ ।

Author

Related News