मानव आवाज

२०८३ भदौ १५ गते
00: 00: 00
२०८३ भदौ १५ गते

जनतासँग जोडिने गरी अघि बढ्ने तयारीमा बराल

पोखरा । पोखरा-५ मा नेकपा (एमाले) वडा कमिटी अध्यक्ष लक्ष्मण बरालको राजनीतिक सक्रियता पछिल्लो समय सङ्गठन विस्तारसँगै सामाजिक गतिविधिमा समेत केन्द्रित हुँदै गएको छ ।

२०८१ मा सम्पन्न एमाले पोखरा-५ को दोस्रो वडा अधिवेशनबाट अध्यक्ष निर्वाचित हुनुभएका बराल ४३ सदस्यीय वडा कमिटीको नेतृत्वमा हुनुहुन्छ ।

आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै उहाँको नेतृत्वमा वडा सङ्गठनका गतिविधि तीव्र बनेका बताइएको छ ।

बरालले नेता-कार्यकर्तालाई निर्वाचन केन्द्रित तयारीमा जुट्न निर्देशन दिँदै जनसम्पर्कलाई सङ्गठन निर्माणको महत्वपूर्ण आधारका रूपमा अघि सारेको बताउनुभएको छ ।

सङ्गठनसँगै सामाजिक सेवामा पनि उहाँको सक्रियता देखिन्छ । उहाँको नेतृत्वमा पोखरा-५ मा आयोजित रक्तदान कार्यक्रममा ४४ पिन्ट रगत सङ्कलन भएको थियो ।

विपद्का बेला तीज विशेष कार्यक्रम स्थगित गरी त्यसका लागि जुटाइएको स्रोत राहत तथा सहयोगमा परिचालन गर्ने निर्णय गरिएको पनि उहाँले बताउनुभयो ।

बरालको नेतृत्वमा मालेपाटनमा करिब १७ लाख रुपियाँ लागतमा दुईतले पार्टी कार्यालय भवन निर्माण गरिएको बताउँदै उहाँले आगामी दिनमा आफू वडाको राजकीय जिम्मेवारीमा अब्बल रहेको दावी गर्नुभएको छ ।

स्थानीय तथा पार्टीका विभिन्न तहबाट सहयोग जुटाएर निर्माण गरिएको भवनलाई वडा सङ्गठनको स्थायित्व र गतिविधिका लागि महत्वपूर्ण पूर्वाधार मानिएको छ ।

उहाँको चासो पार्टी सङ्गठनमा मात्र सीमित छैन । कृषियोग्य जमिनको अनियन्त्रित प्लटिङ, किसानका उत्पादनको उचित मूल्य र बजार, युवा तथा महिलाका सवाललगायत स्थानीय मुद्दामा समेत उहाँले सार्वजनिक रूपमा धारणा राख्दै आएको बताउनुभएको छ ।

विभिन्न समुदायका सामाजिक तथा सांस्कृतिक गतिविधिमा सहभागिता जनाउँदै समुदायबिचको सद्भाव र सहकार्यलाई समेत प्राथमिकता दिनुभएको छ ।

वर्तमान गतिविधिले बराल स्थानीय निर्वाचनको तयारीसँगै सङ्गठन विस्तार, जनसम्पर्क र सामाजिक आधार बलियो बनाउने दिशामा अघि बढिरहेको बताइएको छ ।

आगामी निर्वाचनमा उहाँको भूमिका वा उम्मेदवारी भने पार्टीको निर्णय र स्थानीय राजनीतिक समीकरणले निर्धारण गर्नेछ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार