पोखरा । एकल महिला, किशोरी तथा अभिभावकविहिन बालबालिकाको शिक्षा र स्वास्थ्यमा योगदान दिँदै आएको सामाजिक संस्था बहिनी एडुकेयर फाउण्डेशन, पोखराको १२ औँ साधारण सभा, छैठौँ अधिवेशन तथा सामाजिक परीक्षण (लेखाजोखा) कार्यक्रम २०८२ असोज ४ गते पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका-७ का वडा अध्यक्ष राममोहन आचार्यले राज्यसँगै सामाजिक सङ्घसंस्था र गैससहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै फाउण्डेशनले पछाडि पारिएका नागरिकलाई उच्च प्राथमिकतासहित सहयोग गर्दै आएकोमा प्रशंसा गर्नु भयो ।

उहाँले समाज रूपान्तरणका अभियानहरू क्षणिक नभई दीर्घकालीन रूपमा निरन्तर चलिरहनुपर्नेमा जोड दिनु भयो ।
फाउण्डेशनका कार्यकारी निर्देशक सुरेन्द्र परियारले संस्थाले कास्की र तनहुँ जिल्लालाई कार्यक्षेत्र बनाइ सहश्राब्दी विकास लक्ष्यका नं. ३ (स्वास्थ्य) र नं ४ (गुणस्तरीय शिक्षा) का दिगो विकास लक्ष्यअनुरूप विपन्न र पछाडि पारिएका महिला तथा बालिकाको क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जानकारी दिनु भयो ।
सामाजिक लेखाजोखा सहजकर्ता निकिता कोइरालाले संस्थाले सञ्चालन गरेका कार्यक्रम, उपलब्धि, सिकाइ र सबल पक्ष प्रस्तुत गर्नु भयो ।
उहाँका अनुसार संस्थाले विपन्न परिवारका बालबालिकालाई विद्यालय भर्ना, शैक्षिक सामग्री र पोशाक सहयोग, स्वास्थ्य बीमा लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यस वर्ष कास्कीमा १ सय १६ जना र तनहुँमा १२ जना बालबालिका शैक्षिक सहयोगबाट प्रत्यक्ष लाभान्वित भएका छन् । त्यसैगरी एडुकेयर फेमेली कार्यक्रमबाट कास्कीमा ५० र तनहुँ जिल्लामा १२ घरपरिवार लाभान्वित भएका छन् ।
कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधि, अभिभावक र लाभग्राहीहरूले संस्थाका कार्यक्रमलाई प्रभावकारी र निरन्तर राख्न सुझाव दिएका थिए ।

यस अवसरमा एसईई उत्तीर्ण १६ जना र कक्षा १२ उत्तीर्ण दुई जना गरी १८ जना विद्यार्थीलाई सम्मान गरिएको थियो ।
साधारण सभाले आगामी दुई वर्षका लागि अभिजित श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिमा उपाध्यक्ष अनिरुद्र बराल, सचिव रीता गुरुङ, कोषाध्यक्ष विकास भट्टराई तथा सदस्यहरूमा डा. शुभेच्छा देवा श्रेष्ठ, डा. बिजेता श्रेष्ठ र मेरीका श्रेष्ठ रहनु भएको छ ।
कार्यक्रम बहिनी एडुकेयरकी अध्यक्ष कुञ्जनी परियार प्यासीको अध्यक्षता, कार्यकारी निर्देशक सुरेन्द्र परियारको स्वागत मन्तव्य र सचिव सुष्मा ओझाको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका समन्वय अधिकारी नवराज बराल, पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्मा, गैरसरकारी संस्था महासङ्घ नेपाल केन्द्रीय सदस्य विजय प्रधान, गण्डकी प्रदेश समितिका अध्यक्ष पदमराज पहारी, कास्कीका अध्यक्ष इन्द्रीरा पौडेल, मानवअधिकार एलायन्स गण्डकीका अध्यक्ष डा. बुद्धिबहादुर थापा, कोपिला नेपालकी कार्यकारी निर्देशक विना शिलवाल, माछापुच्छ्रे माविका प्रधानाध्यापक सन्तोष आचार्य, लाभग्राहीको तर्फबाट अनिता श्रेष्ठ लगायतले विपन्न परिवार सहयोग र स्थानीय समुदायलाई सचेतना मूलक काम गर्दै आएकोमा यस्ता कार्यक्रमलाई निरन्तरता र जिवन्त राख्ने तर्फ जोड दिदै आ-आफ्नो भनाइ राख्नु भएको थियो ।