मानव आवाज

२०८३ श्रावण ६ गते
00: 00: 00
२०८३ श्रावण ६ गते

बागलुङ जिल्ला गण्डकीको तेस्रो पूर्ण खोप सुनिश्चितता घोषित

मधु पन्थी, पोखरा।

बागलुङ जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने तेस्रो जिल्ला बनेको छ । यसअघि म्याग्दी र मनाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिसकिएको छ ।

जिल्लाका १३ देखि २३ महिनाका ३ हजार ९८ जना बालबालिकाले पूर्ण खोप र शुन्यदेखि १५ महिना उमेर समूहका ३ हजार ५ सय ५२ जना बालबालिकाले खोप लगाइरहेका छन् ।

दश ओटै स्थानीय तहका सबै बालबालिकाहररूले पूर्ण खोप लगाएपछि बागलुङलाई गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले २०८२ जेठ ३० गते पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नु भयो ।

उहाँले प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका निमित्त प्रमुख घनश्याम सापकोटालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणाको प्रमाणपत्र समेत प्रदान गर्नु भयो ।

मातृशिशु मृत्युदर घटाउन प्रदेश लागिपरेको, खोप अभियान दिगोपना महत्वपूर्ण विषय भएकाले यसलाई कायम राख्न तीनै तहका सरकार हातेमालो गरी अघि बढ्ने, बालबालिकाहरूलाई तोकिएको समयमा खोप दिनुका साथै पोषणयुक्त खानाको प्रबन्धले मात्र स्वस्थ्य राख्न सकिने भएकाले त्यसतर्फ सजग रहन मन्त्री पाठकले ज‍ोड दिनु भयो ।

गण्डकी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउन अस्पतालहरुको स्तरोन्नति र पालिका स्तरीय अस्पताललाई प्रदेश सरकार मातहतमा ल्याउने कामको थालनी भएको बताउँदै मन्त्री पाठकले स्तरोन्नति गरिएका अस्पताललाई दक्ष जनशक्ति, पर्याप्त उपकरण र पूर्वाधार सम्पन्न बनाई जनतालाई स्थानीयस्तरमै सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार कटिवद्व रहेको बताउनु भयो ।

उहाँले धौलागिरि प्रादेशिक अस्पताललाई एक सय शैयामा स्तरोन्नति गरिएसँगै यसै वर्षदेखि नर्सिङ विषयको पढाइ शुरू गरिने पनि जानकारी दिनु भयो ।

धौलागिरि अस्पताललाई मेडिकल कलेजको रूपमा विकास गर्ने प्रदेश सरकारको दीर्घकालिन योजना रहेको र प्रदेशमा आवश्यक जनशक्ति आपूर्ति गर्न धौलागिरि अस्पतालमा नर्सिङ, गोरखा अस्पतालमा एचएको पढाउने काम यसै वर्षबाट शुरू गर्नेगरी बजेटको समेत व्यवस्था गरिएको मन्त्री पाठकको भनाइ छ ।

आगामी वर्ष नवलपुर अस्पतालमा प्राविधिक शिक्षाको पठनपाठन हुने गरी काम समेत अघि बढिसकेको मन्त्री पाठकले बताउनु भयो ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीका अनुसार ताराखोला गाउँपालिकाका १६ देखि २३ महिनाका ७०, बरेङका ५ सय ९, काठेखोलाका २ सय ७, बडिगाडका ३ सय ५५, निसीखोलाका ३ सय ७७ र तमानखोला गाउँपालिकाका १ सय १४, बागलुङ नगरपालिकाका ४ सय ५९, जैमिनीका २ सय २६, गलकोटका ३ सय २७ र ढोरपाटन नगरपालिकाका ४ सय ५४ जना बालबालिकाले पूर्ण खोप लगाएका छन् ।

ताराखोला गाउँपालिकामा शुन्यदेखि १५ महिनाका १ सय २३, बरेङका १ सय ३६, काठेखोलाका २ सय २७, बडिगाडका ४ सय ४०, निसीखोलाका ४ सय ५२, तमानखोलाका १ सय ६३, बागलुङ नगरका ६ सय ६३, जैमिनीका ३ सय १३, गलकोटका ४ सय २७ र ढोरपाटनका ६ सय ८ जना बालबालिकाले नियमित खोप लगाइरहेको खत्रीले जानकारी दिनु भयो ।

Author

Share the News

Recent News

Related News