पोखरा । “मानवताको पक्षमा” भन्ने यस वर्षको मुल नारा सहित नेपाल रेडक्रस सोसाइटी पोखरा उप-शाखा मालेपाटनको आयोजनामा विपद् व्यवस्थापनसम्बन्धी पूर्वतयारी प्रशिक्षण एवम् सचेतना गोष्ठी २०८२ साउन २३ गते पोखरामा सम्पन्न भयो ।
पोखरा महानगरपालिका वडा नं. ५ का अध्यक्ष विष्णुप्रसाद बरालले ब्यानरमा हस्ताक्षर गरी कार्यक्रम उद्घाटन गर्नु भयो ।
अध्यक्ष बरालले मौसमजन्य विपद् जुनसुकै समयमा आउने भएकोले तयारी अवस्थामा बस्नु पर्नेमा जोड दिनु भयो ।
रेडक्रसको मानवीय अभियानमा वडा कार्यालय सदैव सहयोगी रहिरहने र वडा कार्यालय भित्रै आकस्मिक विपद्मा उद्धारको लागि आवश्यक पर्ने सामग्री तथा उपकरणहरू सहितको कार्यकक्ष रहेको बताउनु भयो ।
सशस्त्र प्रहरी बल कालिका गणका प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमल्सिनाले विपद र उद्धारका लागि प्रहरी निरिक्षकको नेतृत्वमा एउटा उद्धार व्यवस्थापन टोली २४ सै घण्टा तयारी अवस्थामा रहेको बताउनु भयो ।
उहाँले उद्धार तथा प्रकोप व्यवस्थापनसम्बन्धी ५० जना स्वयम्सेवीलाई तालिम दिएको बताउनु हुँदै कुनैपनि विपदको घटनामा रेडक्रसको अभियान सँगसँगै सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा पोखरा महानगरपालिकाको कार्यपालिका सदस्य तथा वडा सदस्य हरिमाया विश्वकर्मा, नेपाल रेडक्रस सोसाईटी कास्कीका उप सभापति रमा कोइराला, कोषाध्यक्ष मोहनसिंह खड्का, सदस्य बबिता सुवेदीले मानवीय सहायता र रेडक्रसबारे आआफ्नो भनाइ राख्नु भएको थियो ।
रेडक्रस उपशाखा-५ का पूर्व सभापति शिवप्रसाद कोइरालाले मानवीय सेवा भावना काम गर्दै आएको, रेडक्रस कास्की मातहत ४८ ओटै उप शाखामा १ सय जनाका दरले तत्काल राहत सामग्री उपलब्ध गराउने गरी तयारी अवस्थामा रहेको भनाइ राख्नु भएको थियो ।
नेपाल रेडक्रस सोसाइटी कास्कीका अधिकृत नवराज भण्डारीले विपद व्यवस्थाको चक्र, नेपालमा घटीरहने प्रकोप, त्यसले पार्ने असर र शब्दावली, विपद् व्यवस्थापन, यसको पूर्व तयारी र रोकथामका बारेमा सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा वडा नं ५ का २४ ओटा टोल विकास समितिका अध्यक्ष तथा सदस्यहरू तथा २५ ओटा आमा समूहका अध्यक्ष तथा प्रतिनिधि, रेडक्रस सोसाइटी पोखरा उप-शाखा ५ का कार्यसमितिका पदाधिकारीहरू सहित कार्यक्रममा ८५ जनाको सक्रिय सहभागी रहेको थियो ।
उप-शाखा ५ का सभापति केशवप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेत्रमाया अधिकारीले स्वागत मन्तव्य र उप-सभापति विद्या पौडेल अधिकारीले रेडक्रसका सात सिद्धान्त वाचन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन उपशाखाका सचिव प्रदिप सुबेदीले गर्नु भएको थियो ।