पोखरा । २६ वर्ष पहिले स्थापित किसान जागरण बहुमूखी सहकारी संस्था लिमिटेड पोखरा महानगरपालिका-७, मासवारको आयोजनामा २०८२ मङ्सिर ६ गते सहकारीका पदाधिकारी तथा शेयर सदस्यहरूका लागि एक दिवसीय सचेतना कार्यक्रम अन्नपूर्ण गाउँपालिका-१, ढिकुरपोखरी, लेवाडेमा सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष लेखबहादुर केसीले सहकारीको वार्षिक कार्यक्रम तथा योजना अन्तर्गत पदाधिकारी तथा शेयर सदस्यहरूका लागि क्षमता अभिवृद्धि एवम् संस्थामा भए गरेका कामकारबाहीको पुनर्ताजगी गर्ने उद्देश्यले सचेतना कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
शेयर सदस्य संस्थाको मेरूदण्ड भएकाले पदाधिकारी तथा सदस्यहरूले आ-आफ्नो जिम्मेवारी वहन गर्न सकियो भने संस्थाको उद्देश्य अनुसार सफलता हासिल गर्न सकिनेमा उहाँले जोड दिनु भयो ।
सहकारी संस्थाका निर्वतमान अध्यक्ष मोतीराम बरालले २०५७ सालमा स्थापित सहकारीले अहिले आफ्नै भवनबाट सेवा प्रदान गरिरहेको बताउनु भयो ।
सहकारीमा २ सय ९१ जना पुरूष, ३ सय जना महिला र २ सय ६५ बालबालिका शेयर सदस्य रहेका छन् ।
सहकारीले पोखरा महानगरपालिकाको वडा नं. ५,६,७,१७ र १८ मा आफ्नो कार्य क्षेत्र बनाई कार्य सम्पादन गर्दै आएको छ ।
सहकारीद्वारा प्राविधिक सल्लाह, नेपाल सरकारद्वारा अनुदानित रासायनिक मल, कृषि आौजार तथा विभिन्न जातका बीउ बिजन सुपथ मूल्यमा बिक्रीवितरण, समाजमा सकारात्मक र संस्थाको उद्देश्य अनुरूप काम गर्दै आएको छ ।
कार्यक्रममा संस्थाको आर्थिक, सामाजिक स्थितिका बारेमा व्यवस्थापक तुल्सीदेवी कोईराला, वित्तीय साक्षरतासम्बन्धी लेखा सुपरिवेक्षण समितिका संयोजक अनिरूद्र बराल, महिला सहभागी र समुदायको चासोका सम्बन्धमा पूर्व अध्यक्ष शशिकला बराल र सहकारीसम्बन्धी कानुनी व्यवस्थाका विषयमा सल्लाहकार मोतिराम बरालले सहजिकरण गर्नु भएको थियो ।
किसान जागरण बहुमूखी सहकारी संस्थाको सामुदायिक विकास उप-समिति संयोजक लक्ष्मी गौतम बरालको अध्यक्षतामा संस्थाकी सदस्य लक्ष्मीदेवी पण्डितले स्वागत एवम् कार्यक्रमको उद्देश्यमाथि प्रकाश र सचिव दिपकजङ्ग कार्कीले सञ्चालन गर्नु भएको थियो ।
कार्यक्रममा सहकारीका पदाधिकारी तथा शेयर सदस्यहरू गरी ९५ जनाको सहभागिता रहेको थियो ।