सिन्धुली । हिन्दुहरूको महान् पर्व बडादसैँ नजिकिएसँगै सिन्धुलीमाढीस्थित शनिबार हाटबजारमा ग्राहक तथा व्यापारीको चहलपहल बढेको छ ।
दसैँका लागि घरायसी सामग्री, ताजा तरकारी, फलफूल तथा अन्य कृषि उपज खरिद गर्न आउने उपभोक्ताको सङ्ख्या बढेपछि हाटबजारमा घुइँचो लाग्न थालेको हो ।
शनिबार लाग्ने हाटबजारमा स्थानीय कृषक तथा साना व्यापारीले स्थानीय उत्पादनका रूपमा ताजा हरियो तरकारी, केरा, कागती, माछा, कुखुरा, तरुललगायत कृषि उपज बिक्रीका लागि ल्याएका छन् ।
चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको माग बढेकाले विगतका शनिबारको तुलनामा यसपटक बजारमा खरिदकर्ता र विक्रेताको चहलपहल बाक्लिएको छ ।
स्थानीयस्तरमै उत्पादित कृषि उपज ताजा र सहज रूपमा पाइने भएकाले शनिबार हाटबजार उपभोक्ताको रोजाइमा पर्दै आएको छ ।
विभिन्न स्थानबाट आएका उपभोक्ता तरकारी तथा फलफूल खरिदमा व्यस्त देखिन्छन् भने कृषक तथा व्यापारीलाई आफ्ना उत्पादन बिक्री गर्न भ्याइनभ्याइ छ ।
कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले दसैँ, तिहारजस्ता मुख्य चाडपर्वको समयमा हाटबजारमा चहलपहल र भिडभाड बढ्ने गरेको बताउनुभयो ।
हाटबजारले स्थानीय कृषकलाई आफ्ना उत्पादनको बजार र उचित मूल्य प्राप्त गर्न सहयोग गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउन योगदान पुर्याएको उहाँको भनाइ छ ।