मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

मन्त्री भएकै बेलामा गिरफ्तार, तीन पटक जेल र पटकपटक हिरासत !

होमनाथ दाहाल

एउटा पाउरोटी र आधा कप चियाबाट कांग्रेस यात्रा सुरू गरेको मेरो कथा व्यथा अर्कै खालको छ । विपी कोइरालाले सम्बोधन गर्ने कार्यक्रम थियो बसन्तपुरमा । एक जना काठमाडौँका मान्छेले म र अर्को एक जना साथीलाई मैले इशारा गर्छु तिमीहरू ताली पड्काउनु पर्छ । म एउटा पाउरोटी र आधा कप चिया दिन्छु भने । त्यसपछि चिया पाउरोटीका लागि उनको इशारा अनुसार ताली पड्काइयो । उनले हामीलाई चिया पाउरोटी खुवाए पनि । समूहलाई उछाल्नका लागि गरिएको रहेछ । हामीले ताली पड्काएपछि सहभागी समूहले ताली पड्काउँथ्यो । यो कुरा २०१५ साल अगाडिको कुरा हो ।

२०१७ सालमा नुतन थपलिया र मलगायत थापाथली प्रसूति गृह भएकै ठाउँमा तरूण दलको अधिवेशनमा ‘भोलिन्टियर्स’ थियौँ । त्यहाँ सेना आएर पक्रिएर लगे । हामी केही विद्यार्थीलाई भने लगेन । पञ्चायत घोषणा गर्नु अघि कांग्रेसका युवा गिरफ्तार भए । २०२३ सालमा मलाई पनि गिरफ्तार गरे । म विद्यार्थी र पत्रकारितातिरबाट कांग्रेस र प्रजातन्त्रको अभियानमा जुटेँ । २०२६÷०२७ सालतिर मैले पनि राष्ट्र पुकार दर्ता गरेँ । प्रजातन्त्र र नेविसङ्घका समाचार छापेको भन्दै सरकारले २०२९ सालतिर राष्ट्र पुकार, नेपाल टाइम्स र निर्मल नाम गरेका तीन ओटा पत्रिकालाई प्रतिबन्ध लगायो । मेरो राजनीति नै पत्रिकाबाट भएको हो । पत्रकारकै हैसियतमा एक साता पक्राउ पर्ने छुट्ने भइरहेकै थियो । त्यो जेलयात्रा थिएन । प्रहरीले सोधपुछ गर्ने । केरकार गर्ने । छाड्ने प्रक्रिया चलिरहन्थ्यो । २०२३ सालमा मलाई पक्राउ गरेर नख्खु जेल पठायो । केही समयपछि नख्खु जेलबाट छुटेँ । 

राष्ट्रपुकारले जेल अङ्क निकालेको थियो । २०२९/०३० साल तिर प्रकाशित त्यो अङ्कमा टङ्कप्रसाद आचार्य गोलघरमा राखेको तस्वीरसमेत प्रकाशित थियो । त्यसले नेपालमा एमनेष्टि बनाउने आधार तयार भयो । एमनेष्टीको नेपाल शाखा बनाउन छलफल भयो । शाखा बनाइयो पनि । त्यसको सुरूवाती अभियानकर्ता पनि हो । म कांग्रेस हुनुमा सान्दाजु (विपी कोइराला) सँगको सङ्गत प्रमुख हो । विपी कोइराला धेरै पढ्ने मान्छे हो । उहाँले जुनसुकै समय पनि पढेर उपयोग गर्नु हुन्थ्यो । अहिले उहाँको जेल डायरी पढ्दै छु । यो पढ्दा उहाँले जेल पर्दाको समय पनि पढेर उपयोग गर्नुभएको पाइन्छ । यो निकै प्रेरणादायी छ ।

२०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह आन्दोलन गरेको थियो । सत्याग्रह आन्दोलनको म प्रवक्ता थिएँ । किसुनजी (कृष्णप्रसाद भट्टराई)ले दमननाथ ढुङ्गानालाई मुख्य प्रवक्ता र मलाई प्रवक्ता बनाउनु भएको थियो । म त्यही आन्दोलनका क्रममा ६ महिना जेल परेको छु । त्यतिबेला चाहिँ मलाई भद्रगोल जेलमा लगिएको थियो । त्यतिबेलाका शासकप्रशासकलाई यो व्यवस्था धेरै टिक्दैन भन्ने भइसकेको थियो । कांग्रेस र कम्युनिष्टका नाममा बहुदलीय व्यवस्थाका लागि आन्दोलन र अभियानले तीव्रता पाइसकेका थिए । यिनीहरूलाई क्रुर व्यवहार गर्नु हुँदैन भन्ने उनीहरूको मानसिकता रहेको पाएँ । उनीहरूले कम्युनिष्ट कार्यकर्तालाई भने दुःख दिएकै हुन्थे । कांग्रेस कार्यकर्तालाई भने त्यसो गर्दैनथे । पञ्चहरूको यो किसिमको ‘बायोसनेश’ थियो ।

प्रजातन्त्र पुनःस्थापना आन्दोलनको तयारीले तीव्रता पाइरहेको थियो । भित्री भेटघाट बाक्लिएका थिए । कांग्रेस र कम्युनिष्ट मिलेर पञ्चायत ढाल्ने निश्कर्ष उन्मुख थिए । मलाई त्यति नै बेला प्रहरीले च्याप्प समात्यो लगिहाल्यो । २०४६ सालमा गिरिजाबाबु (गिरिजाप्रसाद कोइराला)को तत्कालीन निवास चावहिलबाट गिरफ्तार गरेर लग्यो । पञ्चायत ढलेपछि मात्रै हामीलाई छाडिदियो । यतिबेला पनि यातना भने दिएन ।

म शेरबहादुर देउवा सरकारको मन्त्री थिएँ । कृषि तथा सहकारी । ज्ञानेन्द्र शाहले राजाको हैसियतमा प्रजातन्त्रलाई अपहरण गरेर आफैँ मन्त्री परिषदको अध्यक्ष भएको घोषणा गरे । यो २०५९ सालको असोज १८ गतेको घटना हो । क्याविनेटबाटै गिरफ्तार भएँ । २०१७ सालपछि क्याविनेटबाटै गिरफ्तार भएको यो अर्को घटना हो । २०१७ सालमा पनि कांग्रेसको सरकार थियो । २०५९ सालमा पनि । प्रधानमन्त्री निवास बालुवाटारबाट पक्राउ गरेको हो । हामीलाई प्रहरीको मुख्यालयमा तीन महिनाजति राख्यो । रेडियो सुन्न, पत्रिका पढ्न पनि दिँदैनथ्यो । एक महिनाजतिपछि मात्रै पत्रिका पढ्न पाइयो । त्यहाँबाट छाडेपछि आन्दोलनमा लागियो । फेरि एकपटक गिरफ्तार गरेर डेढ महिनाजति प्रहरीको तालिम केन्द्रमा राख्यो । हिरासतमा राखेको त बेहिसाव छ । भारतले नाकाबन्दी लगाएका बेलामा ५–७ दिन प्रहरीले दिएको यातना निकै डरलाग्दो छ । सम्झँदा नै आङ् सिरिङ्ग हुन्छ । गैरकानुनी पक्राउ । यातना ! मेरो जीवनमा पटकपटक पाएँ ।

जेल भन्ने बित्तिकै नारकीय स्थल बुझिन्छ । तर म जेलमा बस्दा त्यहाँ व्यवहार नारकीय थिएन । त्यतिबेला नै कैदीबन्दीलाई पढाइ सुरू गरिएको थियो । अमानवीय व्यवहार त त्यतिबेला कायमै थियो । हामी राजनीतिक मान्छे भएकाले मात्रै अमानवीय व्यवहार नभएको हो । खुल्ला शौचालयलगायतका समस्या कायमै थिए । न्यूनतम मानव अधिकारको आभास थिएन । हुन त जेलबाहिर पनि मानव अधिकारको कुरा कुरामा मात्रै सीमित थिए । भित्र त राम्रो हुने कुरै भएन । अहिले पनि जेलको अवस्थामा खासै परिवर्तन छ जस्तो मलाई लाग्दैन । अपराध बढेको छ । जेलको आकार बढेको छैन । सानो ठाउँमा धेरै मान्छे बस्नु पर्ने बाध्यता छ । जेलभित्रको प्रशासनले क्रुरतम व्यवहार हुन्थ्यो । राजनीतिक व्यक्ति र अरुलाई गर्ने व्यवहारमा फरकपन थियो ।

(दाहालसँग रमेशप्रसाद तिमल्सिनाले गर्नुभएको कुराकानीमा आधारित । २०८० असोज २३ गते उहाँकै निवासमा गरिएको कुराकानीपछि तयार पारिएको यो सामग्री दाहालको स्वर्गारोहणसँगै पुनर्ताजगी र पुनःस्मरणका लागि प्रकाशन गरिएको हो)

Author

Related News