मधु पन्थी, पोखरा ।
कञ्चनपुर जिल्लाको, कृष्णपुर नगरपालिका-१ निगालीमा छाउगोठमा सुतिरहेकी २८ वर्षीया कमला आउजीको सर्पको टोकाइबाट २०८२ असार २८ गते भएको हृदय विदारक निधन प्रति दलित महिला सङ्घ (फेडो) कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।
दलित महिला सङ्घ (फेडो) कास्की जिल्ला अध्यक्ष लक्ष्मी परियार र प्रदेश अध्यक्ष सुमित्रा गायकले २०८२ साउन १ गते जारी प्रेस विज्ञप्तिमार्फत घटना केवल एक महिलाको ज्यान गुमाउनु मात्र नभई, राज्य, समाज र कानुनी व्यवस्थाको संवेदनहीनता र उपेक्षाको प्रत्यक्ष परिणाम, छाउपडी प्रथाको समस्या सुदुर पश्चिमको मात्र नभएर समग्र राष्ट्रकै समस्या रहेको भनिएको छ ।
छाउपडी प्रथा समस्या समाधान तथा न्यूनीकरणको दायित्व सरकारको नै हो। छाउपडी प्रथालाई आधार बनाएर धार्मिक, साँस्कृतिक आस्थामा प्रहार गर्ने र घरपरिवार तथा समाजमा विखण्डन ल्याउने खालका गतिविधिले समस्या समाधान हुनुको सट्टा झनै बढ्ने तर्फ सचेत हुनु पनि उत्तिकै जरुरी छ ।

महिनावारीको अवस्थामा महिला र किशोरीले घरदेखि बाहिर एक्लो गोठमा सुत्नु पर्ने हुँदा बलात्कार र विभेद जस्ता हिंसाको शिकार हुने जोखिमले उनीहरूमा गहिरो मनोवैज्ञानिक असर पर्न जान्छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा १६८ अन्तर्गत र जस्वला अवस्थामा गरिने छुवाछुत, भेदभाव तथा अमानवीय व्यवहारलाई आपराधिक कार्य मानेर दण्डनीय बनाए पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुनु अत्यन्त दुःखद् छ ।
राज्यको भूमिका छाउपडी प्रथा जस्तो भेदभाव पूर्ण व्यवहारका विरुद्ध सम्मानित सर्वोच्च अदालतले नेपाल सरकारका नाममा २०६२ साल वैशाख १९ गते छाउपडी प्रथालाई कुरिति घोषणा गरी यो प्रथा अन्त्य गर्न आवश्यक निर्देशिका बनाई लागु गर्न आदेश जारी गरेको छ।