मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

कैलाली कारागारमा पुनः हिंसात्मक झडप, सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न

कैलाली । जिल्लाको कैलाली कारागार फेरि एक पटक हिंसात्मक झडपको घटनाबाट तरङ्गित भएको छ ।

२०८२ साउन २३ गते राति ११ बजे कैदीबन्दीबिच भएको भिडन्तमा एक जनाको मृत्यु र ४७ जना घाइते भएपछि, कारागारको सुरक्षा तथा व्यवस्थापन प्रणालीप्रति फेरि पनि गम्भीर प्रश्न उठेका छन् ।

लागुऔषध मुद्दामा थुनामा रहेका धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

झडपमा गम्भीर घाइते भएका रबी चौधरी र जगदिश रानालाई यसै अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी राजकुमार सिंहले जानकारी दिनु भयो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार, ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरेर घाइतेहरुको उपचार कार्य भइरहेको छ भने मृतकको शव पोष्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको छ ।

विशेषज्ञहरूका अनुसार, कारागारको भीडभाड, आन्तरिक प्रशासनिक कमजोरी र समयमै विवाद समाधान नहुनु नै हिंसात्मक घटनाको मूल कारण हो ।

तर, यस्ता घटनापछि समेत दीर्घकालीन सुधार योजनाको घोषणा वा कार्यान्वयन नहुनु राज्यको संवेदनशीलताको कमीको सङ्केत मानिन्छ।

पाँच वर्षको अवधिमा कैलालीमा मात्रै विभिन्न कारणले सात जनाको मृत्यु भएको तथ्याङ्क छ । सन् २०२० मा दुई जना, सन् २०२२ मा दुई जना, सन् २०२३ मा दुई जना र सन् २०२४ मा एक जनाको मृत्यु भएको छ । मृत्यु भएका सबै जना पुरुष रहेका जिल्ला कार्यालयले जनाएको छ ।

यसअघि कैलाली कारागारमा कैद भुक्तानका लागि राखिएका डडेल्धुरा जिल्ला भोगेश्वर गाउँपालिका-५ का २८ वर्षीय हरीश पालीको ०८२ असार २ गते सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

जिल्ला कारागार, कैलालीमा पछिल्लो  समय कुटपिट, झडप र मृत्युसम्मका घटनाहरु निरन्तर रुपमा भइरहेका भए पनि कारागार सुरक्षा र व्यवस्थापन कार्यमा सम्बन्धित निकायहरुको ध्यान जान नसक्दा घटनाहरु बारम्बार भइरहेको अधिकारकर्मीहरूले बताउने गरेका छन् ।

सन् २०२५ मा पनि दुई जनाको मृत्यु भएको घटनाले कारागार प्रशासनको लापारवाही तथा व्यवस्थापकीय समस्याबारे सम्बन्धित सरोकारवालालाई एकपटक फेरि झक्झक्याएको छ ।

Author

Related News