पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले मातहतका प्रहरी कार्यालयका प्रमुखहरूसँग आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा प्रहरी उपरीक्षक नवीन कार्कीको उपस्थितिमा २०८३ असोज १९ गते कार्ययोजना २०८३/०८४ सम्बन्धी वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट सम्पादन हुने विभिन्न गतिविधिलाई थप व्यवस्थित, प्रभावकारी, उत्कृष्ट तथा मूल्याङ्कनयोग्य बनाउने उद्देश्यले कार्यसम्पादन करार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कार्यक्रममा प्रहरी उपरीक्षक कार्कीले जिल्लामा शान्तिसुरक्षा कायम गर्न भरपर्दो सुरक्षा योजना निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न मातहतका प्रहरी इकाइ प्रमुखहरूलाई निर्देशन दिनुभयो ।
उहाँले कार्यसम्पादन करारमा उल्लेखित जिम्मेवारीअनुसार उत्कृष्ट कार्यसम्पादन गर्न तथा नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था थप मजबुत बनाउन निर्देशन दिनुभयो ।
साथै, अवैध उत्खनन नियन्त्रणलगायतका विषयमा समेत प्रभावकारी रूपमा काम गर्न प्रहरी इकाइ प्रमुखहरूलाई निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।