मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

स्वास्थ्यसम्बन्धी वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

पोखरा । गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ११ जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको प्रदेशस्तरीय वार्षिक समीक्षा तथा आगामी वर्षको योजना गोष्ठी २०८२ कात्तिक २४ गते पोखरामा सम्पन्न गरेको छ ।

कार्यक्रम उद्घाटन गर्दै स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले समीक्षा गोष्ठी आयोजना गर्नु उद्देश्य होइन, कार्यको प्रत्यक्ष प्रभाव नागरिकले महसुस गर्ने गरी सेवा प्रवाह सुधार गर्नु मुख्य दायित्व भएको स्पष्ट गर्नु भयो ।

उहाँले कानुनले दिएको स्वास्थ्यको अधिकार प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्रालय तथा मातहतका सबै निकायलाई आग्रह गर्दै भन्नु भयो- “काम गर्दा कमजोरी आउन सक्छ, तर नियतवश भएका त्रुटि स्वीकार्य हुँदैनन् । नागरिकका अपेक्षा उच्च छन्, स्रोत-साधन सीमित छ । सुशासन कायम गर्दै कुनै बहानामा ढिलासुस्ती नगरी सेवा दिनुपर्छ ।”

मन्त्री पाठकले औषधि, स्वास्थ्य उपकरण र एम्बुलेन्सजस्ता संवेदनशील सामग्रीको अभावले नागरिक उपचारबाट वञ्चित हुन नपर्ने बताउँदै जनस्वास्थ्यका अत्यावश्यक कार्यक्रममा बजेट कटौती नहुने तथा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनु भयो ।

स्वास्थ्य मन्त्रालयका वरिष्ठ प्रशासक सुरज गुरौले आर्थिक वर्ष २०८१/८२ का बजेट उपयोग, उपलब्धि तथा कार्यान्वयन अवस्थाबारे विस्तृत प्रस्तुति दिनु भयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका स्वास्थ्य शिक्षा प्रशासक भक्तबहादुर केसीले गण्डकी प्रदेशका स्वास्थ्य सूचकहरूको राष्ट्रिय तथा प्रादेशिक तुलनात्मक अवस्था प्रस्तुत गर्नु भयो ।

प्रादेशिक जनस्वास्थ्य केन्द्रका महानिर्देशक खिमबहादुर खड्काले प्रदेशका मुख्य स्वास्थ्य सूचकहरूको वर्तमान अवस्थाबारे जानकारी दिनु भयो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. प्रेमराज पङ्गेनीले बिशिष्टिकृत स्वास्थ्य सेवाको अवस्था र आगामी वर्षका योजनाबारे प्रस्तुतिकरण गर्नु भयो ।


अन्नपूर्ण आधारभूत अस्पतालका प्रतिनिधि ऋषिराम पौडेलले आधारभूत अस्पतालहरूका समस्या, चुनौती र आवश्यकताबारे प्रतिवेदन पेश गर्नु भयो ।

अफिनका प्रदेश प्रतिनिधि महेन्द्र के.सी.ले निजी अस्पतालहरूबाट प्रदान भइरहेको स्वास्थ्य सेवाको संक्षिप्त समीक्षा प्रस्तुत गर्नु भयो ।


विश्व स्वास्थ्य सङ्गठन, नेपालका विरोध कट्टेलले साझेदार संस्थाहरूको समष्टिगत प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भयो ।

कार्यक्रममा अस्पताल, जनस्वास्थ्य कार्यालय र आयुर्वेद अस्पतालहरू छुट्टाछुट्टै समूहमा विभाजन भई समस्याको प्राथमिकिकरण, समाधानका उपाय र चालु वर्षका गतिविधि बारे सामूहिक विश्लेषण गरी प्रस्तुतिकरण गरिएको थियो ।

समीक्षा कार्यक्रममा प्रदेश अस्पताल, प्रदेश जनस्वास्थ्य कार्यालय र प्रदेश आयुर्वेद अस्पतालका प्रमुख तथा प्रतिनिधिहरूले गत वर्षका स्वास्थ्य कार्यक्रमको अवस्था र चालु वर्षको कार्ययोजनाबारे आफ्ना प्रतिवेदन तथा सुझाव प्रस्तुत गरे ।

सचिव डा. विश्वबन्धु बगालेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अधिकृत बुद्धिसागर अधिकारीले गर्नुभएको थियो ।

Author

Related News